अन्तर्राष्ट्रिय नारी दिवसमा तरहरा जेसीजद्वारा सहयोग
धुर्ब भण्डारी / गोर्खा खबर
इटहरी, ८ मार्च २०२६ अन्तर्राष्ट्रिय नारी दिवसको सुखद अवसरमा जेसीआई तरहरा (तरहरा जेसीज) ले इटहरी–२० तरहरामा विशेष सामाजिक कार्यक्रम सम्पन्न गरेको छ। “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने आदर्शलाई आत्मसाथ गर्दै संस्थाले स्थानीय श्रमजीवी नारीहरूलाई सम्मानस्वरूप खाद्यान्न वितरण गरेको हो ।
कार्यक्रममा आर्थिक रूपमा विपन्न तथा दैनिक श्रम गरेर जीवनयापन गर्ने दुई परिवारलाई लक्षित गरी खाद्यान्न सहयोग प्रदान गरिएको थियो। यस वर्षको नारी दिवसको अवसरमा श्रमजीवी महिलाहरू देवी श्रेष्ठ र पूर्णकुमारी माझीलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
“नारी दिवस केवल उत्सव मात्र नभई समाजका आधारस्तम्भ मानिने श्रमजीवी महिलाहरूको योगदानलाई कदर गर्ने दिन पनि हो।”, जेसीआई तरहराका अध्यक्ष मिलन गुरूङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै अध्यक्ष गुरूङले भन्नुभयो, “यस सानो सहयोगले उहाँहरूको आत्मबल बढाउन र समाजमा मानवसेवाको भावना जागृत गर्न मद्दत पुग्ने हामीले विश्वास लिएका छौँ।”
कार्यक्रमलाई सफल बनाउन संस्थाका बोर्ड सदस्यहरू तथा साधारण सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको समापन गर्दै महासचिव मदन बस्नेतले सहयोगका लागि हात बढाउने सम्पूर्ण सदस्यहरू र सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो।

