कुलमान घिसिङको बेलायत भ्रमण: ब्रिटिश सांसदसँग भेटदेखि तमु धीं यूकेको भव्य स्वागतसम्म

0
Kulman Ghising UK (1)

लण्डन । अमेरिकाको दुई साता लामो भ्रमण सकेर बेलायत आइपुगेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले यहाँका विभिन्न निकाय र समुदायसँग महत्त्वपूर्ण भेटघाट र अन्तरक्रिया गरिरहेका छन्। उनको यो भ्रमण नेपालको ऊर्जा क्षेत्र, सामाजिक रूपान्तरण र प्रवासी नेपालीको योगदानमा केन्द्रित रहेको देखिन्छ।

ब्रिटिश सांसदसँग भेटवार्ता

हालै घिसिङले ब्रिटिश सांसद तथा ‘अल पार्टी पार्लियामेन्टरी ग्रुप (एपीपीजी) अन नेपाल’ की अध्यक्ष एलेक्स बेकरसँग भेटवार्ता गरेका छन्। सत्तारुढ लेबर पार्टीकी सांसद बेकरसँगको भेटमा नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्ध, नेपालको ऊर्जा क्षेत्रमा देखिएको सम्भावना, ग्रीन हाइड्रोजन, जलवायु परिवर्तनले नेपालमा पारेको असर र त्यसको समाधानका लागि विश्वव्यापी रूपमा उठाउनुपर्ने विषयमा छलफल भएको थियो।

भेटमा घिसिङले जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिउँ पग्लिएकाले नेपालले सामना गरिरहेको चुनौतीबारे ध्यानाकर्षण गराउँदै ब्रिटिश सरकारबाट सहयोगको अपेक्षा राखेका थिए। उनले भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सन लगायतका समस्या समाधानका लागि पहल गरिदिन पनि सांसद बेकरलाई आग्रह गरे। आफूले ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको बताउँदै उनले सुशासन र समृद्धिका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।

सांसद बेकरले पनि गोर्खा सैनिकका मागहरू र जलवायु परिवर्तनको असरबारे आफूले सक्दो पहल गर्ने आश्वासन दिइन्। उनले बेलायतमा रहेका नेपालीहरूको योगदानको समेत प्रशंसा गरिन्। भेटमा मेजर जुद बहादुर गुरुङ, प्रेमीला भान ओमेन तामाङ र व्यवसायी एलएन पाण्डेको पनि उपस्थिति थियो।

तमु धीं यूकेद्वारा भव्य स्वागत

बेलायत भ्रमणका क्रममा घिसिङलाई तमु धीं यूकेले आफ्नै भवन, मिचेटस्थित ‘द तमु नेप्लिज कम्युनिटी सेन्टर’ मा भव्य स्वागत गरेको छ। ब्याक पाइपको धुनसँगै हलमा प्रवेश गराइएका घिसिङलाई कार्यक्रममा सहभागी करिब ७० जनाले स्वागत गरेका थिए।

स्वागत कार्यक्रममा दीप प्रज्वलन गर्दै घिसिङ र संस्थाका अध्यक्ष जुमकाजी गुरुङले कार्यक्रमको सुरुवात गरेका थिए। स्वागत मन्तव्यमा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले घिसिङको योगदानको प्रशंसा गरे। सो अवसरमा स्वागतका लागि केक पनि काटिएको थियो।

घिसिङले स्वागतका लागि धन्यवाद दिँदै १९ वर्षपछि बेलायत आउँदाको अनुभव बाँडेका थिए। झन्डै ४० मिनेटको सम्बोधनमा उनले नेपाल विद्युत प्राधिकरणमा रहँदाको अनुभव र ‘उज्यालो नेपाल’ अभियानबारे विस्तृत चर्चा गरेका थिए। उनले नेपाललाई संसारमा चिनाउने वीर गोर्खा समुदायको घरमा आउन पाउँदा आफूलाई गर्व महसुस भएको बताए। देशको कुल गार्हस्थ उत्पादन (GDP) को २७ प्रतिशत रेमिट्यान्सले धानेको उल्लेख गर्दै उनले देश निर्माणमा विदेशमा रहेका नेपालीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए। कार्यक्रममा प्रश्नोत्तरको पनि व्यवस्था गरिएको थियो।

आगामी कार्यक्रम र अघिल्लो भ्रमण

सोमबार बिहान लन्डनको हिथ्रो विमानस्थलमा ओर्लिएका घिसिङलाई अध्यक्ष जुमकाजी गुरुङको टोलीले स्वागत गरेको थियो। उनी अगस्ट २४ मा तमु धीं यूकेले आयोजना गर्न लागेको १६औँ नेपाली मेलामा विशेष अतिथिका रूपमा सहभागी हुनेछन्। बेलायतमा रहँदा उनले एनआरएनए युकेका दुवै समूह र अन्य विभिन्न नेपाली संघसंस्थासँग पनि अन्तरक्रिया गर्नेछन्।

यसअघि अमेरिकामा रहँदा उनले टेक्सास, मिशिगन, वाशिंगटन डिसीलगायतका राज्यमा विभिन्न कार्यक्रममा सहभागी भएका थिए। न्यूयोर्कमा ‘हामी नेपाली ग्लोबल’ संस्थाले उनलाई ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मान गरेको थियो। उनले हार्वर्ड विश्वविद्यालयका नेपाली वैज्ञानिक र अनुसन्धानकर्ताहरूसँग पनि छलफल गरेका थिए।

फोटो र समाचार स्रोत – गोर्खा मिडिया, युके

Leave a Reply

Your email address will not be published. Required fields are marked *