यूके, जुलाई २० – गोर्खा खबर
नेपाली मौलिक संस्कृति, रीतिरिवाज र राई समुदायको परम्परागत मूल्यलाई उजागर गर्दै निर्माण गरिएको फिल्म ‘नाकछोङ (बिजुवा)’ को विशेष प्रदर्शन यूकेको ‘द आसफोर्ड सिनेमा’मा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा यूके निवासी नेपालीहरूका साथै स्थानीय नेता, व्यवसायी, समाजसेवी, भआईपीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
फिल्मको प्रदर्शनमा निर्माता ज्योतिराज राई स्वयं उपस्थित रहेर दर्शकसँग अन्तरक्रिया गरेका थिए। उपस्थित अधिकांश दर्शकले फिल्मको कथा, निर्देशन, छायांकन र सम्पादनको खुलेर प्रशंसा गरेका थिए। कतिपय दर्शकले फिल्मले नेपाली राई समुदायको पहिचान र संस्कृति जोगाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको सम्पूर्ण संयोजन किरात राई यायोक्खा प्रादेशिक समिति, आसफोर्ड (प्रा.का.स) ले गरेको थियो। आयोजक समितिले विशेष गरिमा र व्यवस्थापनसहित कार्यक्रम सफल बनाएको थियो।
निर्माता राईका अनुसार ‘नाकछोङ (बिजुवा)’ अब यूकेका सत्रवटै किरात राई यायोक्खा प्रा.का.सहरूमा प्रदर्शन गरिनेछ। साथै, युरोपका पाँच सहरहरूमा र हङकङ, कोरिया, अस्ट्रेलिया, जापान, सिंगापुर, ब्रुनाइ, मलेसिया लगायतका देशहरूमा पनि विशेष प्रदर्शनका मितिहरू तय भइसकेका छन्।
विदेशमा बसेका नेपालीहरूबीच मौलिक पहिचान बोकेको नेपाली फिल्मप्रति बढ्दो चासो र उत्साहले नेपाली चलचित्र क्षेत्रलाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ।
