तमु धिं नेपालद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा बहुउद्देश्यीय सभाहल उद्घाटन
पोखरा, ३ साउन
तमु समुदायको अग्रणी संस्था तमु धिं नेपालले शनिबार पोखरामा आयोजित एक कार्यक्रममार्फत २०८१ सालमा एसईई उत्तीर्ण तमु विद्यार्थीहरूलाई बधाई तथा अभिमुखीकरण प्रदान गर्नुका साथै नवनिर्मित बहुउद्देश्यीय सभाहलको उद्घाटन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको हो भने सभाहलको औपचारिक उद्घाटन उहाँले पोखरा–९ का वडा सदस्य लक्ष्मी पहारीमार्फत गराउनुभयो।
उक्त अवसरमा प्रमुख अतिथि गुरुङले तमु विद्यार्थीहरूलाई देशमै उच्च र गुणस्तरीय शिक्षा हासिल गर्न प्रेरित गर्दै, दक्षता विकासपछि मात्र विदेश जान उपयुक्त हुने सुझाव दिनुभयो। विशेष अतिथि वडा अध्यक्ष दिपेन्द्र मर्सानीले तमु धिंको योगदानप्रति प्रशंसा गर्दै वडा कार्यालयबाट समेत निरन्तर सहयोग हुने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा विकास गुरुङले तमु विद्यार्थीहरूलाई समय सान्दर्भिक शिक्षा प्राप्त गर्न प्रेरणा दिनुहुयो। साथै विभिन्न तमु समाजका प्रतिनिधिहरू, अभिभावक, विशिष्ट अतिथि तथा तमु धिंका पदाधिकारीहरूले सम्मान, शुभकामना तथा सांस्कृतिक प्रस्तुति मार्फत कार्यक्रमलाई समृद्ध बनाएका थिए।
करीब ७८ लाख रुपैयाँ लागतमा निर्माण भएको बहुउद्देश्यीय सभाहल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार शीर्षकमा पोखरा महानगरपालिकामार्फत कार्यान्वयन भएको हो।
कार्यक्रमको अध्यक्षता तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले गर्नुभएको थियो भने स्वागत अध्यक्ष स्वयंले र संचालन सचिव जुमकाजी गुरुङले गर्नुभएको थियो।
