तरहरामा विश्वकप फाइनलको विशेष रौनक, युवा मिलन क्लबद्वारा भव्य लाइभ स्क्रिनिङसँगै भाइचारा कार्यक्रम
तरहरा (इटहरी) । गोर्खा खबर
फिफा विश्वकप २०२६ को अर्जेन्टिना र स्पेनबीचको बहुप्रतीक्षित फाइनल खेललाई लिएर सुनसरीको इटहरी २०, तरहरास्थित जनसहयोग मार्गमा विशेष रौनक छाएको छ । स्थानीय युवा मिलन क्लब (वाईएमसी) को सक्रियतामा आज, आईतबार, केही घण्टापछि, खेलको प्रत्यक्ष प्रसारण (लाइभ स्क्रिनिङ) का लागि भव्य तयारी गरिएको छ।
क्लबका कोषाध्यक्ष विनोद चौधरीका अनुसार विश्वकपको फाइनल खेल सुरु हुनुभन्दा अगाडि आपसी सद्भाव र भाइचारा अभिवृद्धिका लागि एक विशेष औपचारिक कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रममा आमन्त्रित विशिष्ट अतिथिहरूका लागि विशेष स्वागत, आतिथ्यता तथा पेय पदार्थको समेत व्यवस्था गरिएको छ।
खेललाई भव्य रूपमा प्रदर्शन गर्नका लागि ताराहराकै सबैभन्दा ठूलो प्रोजेक्टर स्क्रिन जडान गरिएको छ, जहाँ खेल हेर्न खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति भइसकेको छ। कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन स्वयम्सेवकहरू समेत परिचालन गरिएको क्लबले जनाएको छ।
क्लबका सल्लाहकार ज्यानु राईका अनुसार युवा मिलन क्लबले आफ्नो टोलभन्दा बाहिरबाट आउने सम्पूर्ण खेलप्रेमी तथा अतिथिहरूलाई पनि कार्यक्रममा हार्दिक स्वागत गरेको छ। खेलको माध्यमबाट भाइचारा साटासाट गर्ने र स्थानीय स्तरमा फुटबलको माहोललाई थप उर्जावान् बनाउने क्लबको उद्देश्य रहेको छ।
