इटहरी उपमहानगरपालिकाद्वारा बजार अनुगमन तीव्र: ११ बुँदे नियम अनिवार्य पालना गर्न व्यवसायीहरूलाई निर्देशन

0
ITAHARI SUCHANA patrika ko

गोर्खा खबर, इटहरी जेठ १४ । इटहरी उपमहानगरपालिकाले उपभोक्ताको अधिकार संरक्षण र गुणस्तरीय वस्तु तथा सेवा सुनिश्चित गर्न बजार अनुगमन कार्यलाई तीव्रता दिँदै कडा निर्देशन जारी गरेको छ। उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण व्यवसायी, व्यापारी तथा सेवा प्रदायकहरूका लागि ११ बुँदे अनिवार्य नियमहरू सार्वजनिक गर्दै उपमहानगरपालिकाले यसको पूर्ण पालना गर्न आग्रह गरेको हो।

उपमहानगरपालिकाको बजार अनुगमन शाखाका अनुसार बजारलाई व्यवस्थित, मर्यादित र उपभोक्तामैत्री बनाउन व्यवसाय स्थलमा आवश्यक कागजातहरू दुरुस्त राख्न र तोकिएका मापदण्डहरू पालना गर्न भनिएको छ। नियम उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी समेत उपमहानगरपालिकाले दिएको छ।

व्यवसाय स्थलमा अनिवार्य पालना गर्नुपर्ने ११ बुँदे नियमहरू:

१. मूल्य सूची प्रदर्शन: सबै उपभोक्ताले सजिलै देख्ने गरी पसल वा व्यवसाय स्थलमा अनिवार्य रूपमा मूल्य सूची राख्नुपर्नेछ।

२. बिल/बिजकको प्रयोग: प्रत्येक खरिद-बिक्रीमा नियमित रूपमा प्रयोग हुने बिल वा बिजक अनिवार्य रूपमा जारी गर्नुपर्नेछ। ३. दर्ता प्रमाणपत्र र प्यान (PAN): व्यवसाय दर्ता प्रमाणपत्र तथा स्थायी लेखा नम्बर (PAN) कार्ड व्यवसाय स्थलमै देखिने गरी राख्नुपर्नेछ।

४. उत्पादन र उपभोग मिति: उत्पादन मिति (MFG), उपभोग मिल्ने अन्तिम मिति (EXP) र अधिकतम खुद्रा मूल्य (MRP) स्पष्ट उल्लेख नभएका कुनै पनि सामान बिक्री-वितरण गर्न पाइने छैन।

५. म्याद नाघेका सामानमा प्रतिबन्ध: म्याद नाघेका (Expired) तथा सडेगलेका सामानहरू कारोबार स्थलमा राख्न पूर्ण रूपमा निषेध गरिएको छ।

६. प्रमाणित नापतौल: सही तौल भएका तथा सम्बन्धित निकायबाट इजाजतप्राप्त ढक, तराजु वा इलेक्ट्रोनिक तराजु मात्र प्रयोग गर्नुपर्नेछ।

७. प्रतिबन्धित सामान: सरकारद्वारा प्रतिबन्ध लगाइएका कुनै पनि सामानहरूको कारोबार गर्न पाइने छैन।

८. अन्तःशुल्क दर्ता: अन्तःशुल्क दर्ता बिना सुर्तीजन्य पदार्थको कारोबार गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

९. करपाटी अनिवार्य: व्यवसाय स्थलमा अनिवार्य रूपमा करपाटी (Tax Board) राख्नुपर्नेछ।

१०. कृत्रिम अभावमा रोक: बजारमा कुनै पनि उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्न पाइने छैन।

११. कालाबजारी निषेध: नाफाखोरी वा कालाबजारी गर्ने उद्देश्यले सामान लुकाउने वा बढी मूल्य लिने कार्य गर्न पाइने छैन।

नियम उल्लंघन गरे कारबाही हुने “नियम पालना गरी कारोबार मर्यादित बनाऔँ, उपभोक्ताको अधिकार सुरक्षित गरौँ” भन्ने मूल नाराका साथ उपमहानगरपालिकाले यो कदम चालेको हो। अनुगमनका क्रममा यी नियमहरू उल्लंघन गरेको पाइएमा कसैलाई पनि छुट नहुने र प्रचलित कानुन बमोजिम तत्कालै कडा कारबाही प्रक्रिया अगाडि बढाइने बजार अनुगमन शाखाले स्पष्ट पारेको छ।

बजारमा केही समस्या देखिएमा वा उपभोक्ता ठगिएको महसुस भएमा उपमहानगरपालिकाको बजार अनुगमन शाखाको टोल फ्री नम्बर १६६०२५५८८८६ वा फोन नम्बर ०२५-५१७००१ मा सिधै सम्पर्क गरी गुनासो वा उजुरी दर्ता गर्न समेत सम्पूर्ण नगरबासीहरूलाई अपिल गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *