धरान-१० स्थित सैनिक भवनमा जेठ २२ देखि तीन दिने ‘द लोकल आर्ट एक्जिबिसन’ हुने (अडियो समाचारसहित)

0
dharan news art (1)

यस कार्यक्रमले विशुद्ध रूपमा स्थानीय कलाकार र उनीहरूको सिर्जनालाई मात्र समेट्ने इटहरी र धरानमा संचालित ‘अविनाश हस्तकला केन्द्र’ का प्रोप्राइटर अविनाश श्रेष्ठले बताउनुभयो।

गोर्खा खबरधरान

जेठ १२, धरान । धरान-१० स्थित सैनिक भवनमा आगामी जेठ २२, २३ र २४ गते तीन दिने बृहत् कला तथा हस्तकला प्रदर्शनी ‘द लोकल आर्ट एक्जिबिसन: फस्ट क्यानभास २०८३’ आयोजना हुने भएको छ। कालो इंकको प्रस्तुतिमा हुन लागेको यस कार्यक्रम “कलाकारहरूका लागि, कलाकारहरूकै तर्फबाट” भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको हो।

विशेष गरी स्थानीय कला, संस्कृति र मौलिक उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस प्रदर्शनीमा नवोदित कलाकारहरूका उत्कृष्ट चित्रकला र परम्परागत तथा आधुनिक हस्तकलाका सामग्रीहरू मुख्य आकर्षणका रूपमा रहने छन्। तीन दिनसम्म चल्ने यस भव्य महोत्सवमा आगन्तुकहरूका लागि प्रत्यक्ष कला कार्यशाला इन्टरएक्टिभ आर्ट पर्फर्मेन्स, रमाइलो प्रत्यक्ष संगीतसँगै विभिन्न स्थानीय खाना तथा उत्पादनका स्टलहरूको समेत व्यवस्था गरिएको छ।

यस कार्यक्रमले विशुद्ध रूपमा स्थानीय कलाकार र उनीहरूको सिर्जनालाई मात्र समेट्ने इटहरी र धरानमा संचालित ‘अविनाश हस्तकला केन्द्र’ का प्रोप्राइटर अविनाश श्रेष्ठले बताउनुभयो।

हाम्रो समाज र अर्थतन्त्रमा हस्तकलाको ठूलो महत्व रहेको चर्चा गर्दै उहाँले हस्तकलाले हाम्रो मौलिक पहिचान र संस्कृतिलाई पुस्तौंसम्म जीवन्त राख्न मद्दत पुर्‍याउने उल्लेख गर्नुभयो। स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको प्रयोग गरी तयार पारिने हस्तकलाका सामग्रीको प्रवर्द्धन गर्दा स्थानीय रोजगार सिर्जना हुनुका साथै आत्मनिर्भर अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

विशुद्ध कला र कलाकारिताको सम्मानका साथै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आयोजना हुन लागेको यस विशेष उत्सवमा सहभागी भई स्थानीय कलाकारहरूलाई माया र साथ दिन आयोजक समूहले विश्वभरका सम्पूर्ण कलाप्रेमीहरूमा हार्दिक निमन्त्रणा गरेको छ। कार्यक्रमको विस्तृत विवरण र अपडेटका लागि ‘The Local Art Exhibition’ को आधिकारिक फेसबुक पेज भिजिट गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *