भिसा सुनिश्चित नहुँदा ‘दुर्गेश थापा वाइल्डफायर लाइभ इन माल्टा २०२५’ कार्यक्रम स्थगन
माल्टा – नेपाली समाज माल्टाले आगामी Durgesh Thapa Wildfire Live in Malta 2025 कार्यक्रम रद्द भएको जानकारी दिएको छ। कलाकार दुर्गेश थापा र उहाँको टिमको भिसा सुनिश्चित नभएको कारणले गर्दा पूर्वनिर्धारित कार्यक्रम अर्को सूचना जारी नगरुनजेलसम्मका लागि स्थगन गर्नुपरेको आयोजकले अत्यन्तै दुःखका साथ सूचित गरेको छ।
नेपाली समाज माल्टाका अध्यक्ष ज्ञान बहादुर लामा द्वारा जारी प्रेस विज्ञप्तिमा, कार्यक्रम सफलताका लागि पूर्ण प्रयासहरू भए पनि आयोजकको नियन्त्रणबाहिरका कारणहरूले गर्दा यस्तो अप्रत्याशित निर्णय लिनुपरेको उल्लेख छ। कार्यक्रम रद्द हुँदा पर्न गएको असुविधाप्रति आयोजकले हृदयदेखि क्षमा मागेको छ।
आयोजकले यस अचानकको परिवर्तनले पारेको प्रभावप्रति सबै प्रायोजकहरू, विशेष अतिथिहरू, सहयोगीहरू तथा टिकट खरिद गरिसकेका दर्शकहरू सबैप्रति गहिरो खेद प्रकट गरेको छ।
प्रेस विज्ञप्तिमा भनिएको छ, दर्शकहरूले आफ्नो टिकटको रकम फिर्ता (Refund) लिनका लागि दिइएको नम्बरमा फोन गरेर प्रक्रिया अगाडि बढाउन सक्नेछन्।
“तपाईंहरूको विश्वास, साथ र उत्साहप्रति हामी कृतज्ञ छौँ ।”, नेपाली समाज माल्टाका अध्यक्ष ज्ञान बहादुर लामा, “आगामी सूचना तथा अद्यावधिकहरूका लागि कृपया हाम्रो आधिकारिक फेसबुक पेज नियमित रूपमा हेर्नुहोला।”
नेपाली समाज माल्टाले निकट भविष्यमा उत्कृष्ट मनोरञ्जन प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम नै रहने जनाएको छ।

