शैक्षिक नेतृत्व विकासको महाअभियान: प्याब्सन कोशीको ‘लिडरसिप समिट’
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोशी प्रदेश समितिले शैक्षिक परिवेशअनुरूप विद्यालय सञ्चालन र नेतृत्व विकास गर्ने उद्देश्यका साथ आगामी मंसिर २६ गते सुनसरीको इटहरीस्थित होटल सोल्टीमा एक दिने ‘लिडरसिप समिट’ आयोजना गर्दैछ।
कार्यक्रमको संयोजक प्याब्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापाका अनुसार, ‘सस्टेनेबल लिडरसिप एण्ड वेलबिइङ इन स्कूल्स’ (विद्यालयमा दिगो नेतृत्व र भलाई) मूल विषयवस्तु रहेको यस सम्मेलनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट करिब ३०० जना विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरूको सहभागिता रहने जनाइएको छ।

“सम्मेलनमा मुख्यगरी निर्देशनात्मक नेतृत्व, आलोचनात्मक पढाइ, शिक्षकको निरन्तर पेसागत विकास, बाल सुरक्षा, विद्यार्थीको सामाजिक–भावनात्मक विकास, डिजिटल रूपान्तरण र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग जस्ता विद्यालय सुधारका आयामहरूमा विज्ञहरूले प्रशिक्षण दिनेछन्।”, थापाले भने, “प्याब्सनका केन्द्रीय पदाधिकारीहरू मुख्य वक्ताका रूपमा सहभागी हुने यो कार्यक्रमले कोशी प्रदेशमा शैक्षिक गुणस्तर सुधार, दिगोपन र नवप्रवर्तनलाई संस्थागत गर्न नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ ।”
उहाँका अनुसार यो भव्य कार्यक्रम सम्पन्न गर्नका लागि करिब ३६ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।
