इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तकलाई स्थानीय शिक्षाको जगको रूपमा व्याख्या गरेका छन् ।
इटहरी । इटहरी उपमहानगरपालिकाले विद्यालय तहमा स्थानीय पाठ्यक्रमलाई औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीहरूलाई आफ्नै माटो, समाज, संस्कृति, र गौरवपूर्ण इतिहाससँग जोड्ने महत्वाकांक्षी लक्ष्यका साथ कक्षा १ देखि ५ सम्मका लागि ‘इटहरी सेरोफेरो’ नामक पाठ्यपुस्तक विद्यालयहरूमा पुर्याइएको छ ।
लामो समयदेखि स्थानीय पाठ्यक्रम तयार पार्ने पहल भए पनि इटहरीमा यसको कार्यान्वयन हुन सकेको थिएन ।
उपमहानगरपालिकाको वर्तमान नेतृत्वले यसलाई मूर्त रूप दिँदै नगरभित्रका बालबालिकालाई सैद्धान्तिक ज्ञानका साथै स्थानीय व्यवहारिक शिक्षामा बलियो बनाउने महत्त्वपूर्ण कदम चालेको छ ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तकलाई स्थानीय शिक्षाको जगको रूपमा व्याख्या गरेका छन् ।
“हाम्रा बालबालिकाले विश्व ज्ञानसँगै आफ्नो नगरको ऐतिहासिक, भौगोलिक, सामाजिक र सांस्कृतिक ज्ञान हासिल गर्न जरुरी छ,” मेयर पौडेलले भने, “यो पाठ्यपुस्तकले उनीहरूलाई स्थानीय पहिचानको महत्व बुझाउनुका साथै आफ्नै समुदायप्रति जिम्मेवार नागरिक बनाउन मद्दत गर्नेछ । यो केवल किताब होइन, यो इटहरीको भविष्य निर्माणको एउटा आधार हो ।”
यो पाठ्यपुस्तकमा इटहरीको उत्पत्ति, महत्त्वपूर्ण स्थलहरू, स्थानीय चाडपर्वहरू, परम्परागत पेशाहरू, यहाँ बोलिने विभिन्न भाषाहरू, र स्थानीय पर्यावरणको संरक्षण जस्ता विषयवस्तुहरूलाई समावेश गरिएको छ । यसले विद्यार्थीहरूलाई पढाइमा सैद्धान्तिक बोझ मात्र नभई स्थानीय ज्ञानको आनन्ददायी अनुभव प्रदान गर्ने विश्वास गरिएको छ ।
उपमहानगरपालिकाले अहिले कक्षा १ देखि ५ सम्मका लागि ‘इटहरी सेरोफेरो’ लागू गरे पनि यसलाई क्रमशः माथिल्ला कक्षाहरूमा विस्तार गर्ने योजना बनाएको छ ।
मेयर पौडेलका अनुसार, अबको करिब दुई महिनाभित्रै कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूका लागि पनि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार पारी कार्यान्वयनमा ल्याइनेछ ।
यस वृहत् योजनाले प्राथमिक तहदेखि नै विद्यार्थीहरूलाई इटहरीको समग्र परिवेशको ज्ञान दिँदै लैजाने र भविष्यमा उनीहरूलाई स्थानीय विकास तथा संरक्षणमा सक्रिय भूमिका खेल्न प्रेरित गर्ने उपमहानगरपालिकाको अपेक्षा छ ।
स्थानीय पाठ्यक्रमको सफल कार्यान्वयनले विद्यार्थीहरूलाई केवल परीक्षामा उत्तीर्ण गराउनु मात्र नभई उनीहरूलाई स्थानीय ज्ञानको संरक्षक र प्रवर्द्धक बनाउन सहयोग गर्ने शिक्षाविद्हरूले बताएका छन् ।
