जेनजी आन्दोलनको प्रभावः प्रेस संयोजक पुरीद्वारा राजीनामा
इटहरी – इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौड्यालका प्रेस संयोजक धनबहादुर पुरीले आइतबार पदबाट राजीनामा दिएका छन् ।
जेनजी आन्दोलनपछि उपमहानगरपालिकामा श्रृजित विषम परिस्थितिका कारण भए पनि ध्वस्त उपमहानगरपालिकालाई ठूलो आर्थिक भारबाट जोगाउनका लागि पनि प्रमुख प्रशासकीय अधिकृत समक्ष राजीनामा बुझाएका, बताईएको छ ।
तर, संघीय सरकारको खर्च कटौती सम्बन्धी निर्णयपछि अर्थ मन्त्रालयले स्वकीय सचिव र प्रेस संयोजक जस्ता पदहरूमा कटौती गर्ने गरी परिपत्र जारी गरेको थियो ।
अर्थ मन्त्रालयको परिपत्रअनुसार, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरू लगायत राजनीतिक पदाधिकारीले प्रेस समन्वयका लागि अतिरिक्त व्यक्तिलाई नियुक्त गर्न पाउने छैनन् । यो जिम्मेवारी सम्बन्धित मन्त्रालयकै प्रवक्ता वा सूचना अधिकारीले सम्हाल्नुपर्ने व्यवस्था गरिएको छ ।
यसबाहेक स्वकीय सचिवालयका कर्मचारीका लागि सवारी साधन, वैदेशिक भ्रमण र अन्य भौतिक सुविधा उपलब्ध गराउन नपाउने व्यवस्था पनि गरिएको छ।
मेयर हेमकर्ण पौडेल निर्वाचित भएपछि २०७९ असोज ३१ गतेदेखि प्रेस संयोजकको जिम्मेवारी सम्हालेका पुरीले झन्डै तीन वर्ष काम गरे। मेयरको सचिवालयमा रही उनले उपमहानगरका गतिविधि प्रचार र पत्रकार समन्वयको काम गर्दै आएका थिए ।
