भुइँमा बसेर इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक सम्पन्न
इटहरी, नेपाल – इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक मंगलबार भुइँमै बसेर सम्पन्न भएको छ। हालैको आगलागीबाट क्षति पुगेको भवन अगाडि नगर प्रमुख हेमकर्ण पौडेल र उपप्रमुख संगीता चौधरीको उपस्थितिमा सबै जनप्रतिनिधि भेला भई बैठक बसेका हुन्।
बैठकमा प्रमुख पौडेलले आगलागीबाट पालिकामा ठूलो क्षति पुगेको जानकारी गराए।
उनले क्षतिको विवरण संकलन गर्ने र सेवा प्रवाहलाई कसरी सुचारु गर्ने भन्नेबारे दुईवटा एजेन्डामा छलफल गरिएको बताए।
बैठकमा सहभागी जनप्रतिनिधिहरूले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने र पालिकाको सेवालाई यथाशीघ्र दुरुस्त बनाउनुपर्नेमा जोड दिएका छन्।
नगर प्रमुख पौडेलले भत्किएका संरचना तत्काल पुनर्निर्माण गर्न सम्भव नभएकाले अस्थायी संरचना बनाएर भए पनि सेवा प्रवाह जारी राख्ने बताए।
उनले सबै कर्मचारीलाई जसरी भए पनि नागरिकको सेवामा खटिन आग्रह गरेका छन्।
गत भदौ २४ गतेको प्रदर्शनका क्रममा उपमहानगरपालिकामा तोडफोड, आगजनी र सवारीसाधन जलाइएको थियो।
