काठमाडौं। नेपाली सेनाले बुधबार साँझ ५ बजेसम्म देशभर निषेधाज्ञा जारी रहने जनाएको छ। शान्ति सुरक्षा कायम गर्न यो कदम चालिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको छ।
निर्देशनालयका अनुसार, साँझ ५ बजेपछि भने भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागू हुनेछ। कर्फ्यूको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सेनाले सर्वसाधारणलाई अनुरोध गरेको छ।
कर्फ्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ।
सेनाले आन्दोलनपछिको अवस्थालाई सम्बोधन गर्न सम्बन्धित पक्षहरूसँग समन्वय भइरहेको जानकारी दिएको छ। साथै, आन्दोलनको नाममा हुने कुनै पनि तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिमाथिको आक्रमणलाई गम्भीर अपराध मानिने र कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।
