इटहरीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

0

इटहरी–२० का वडा अध्यक्ष मणिराम श्रेष्ठले हालको सुरक्षा अवस्थालाई सन्तोषजनक भएको उल्लेख गर्दै स्थानिय प्रहरी, विशेषतः तरहरा प्रहरी टोलीको प्रशंसा गरे।

Police Nagarik Sunuwai

इटहरी, साउन २७ । गोर्खा खबर

ईलाका प्रहरी कार्यालय (ईप्रका) इटहरी, सुनसरीको आयोजनामा आज इटहरी–२० स्थित रूद्राक्ष पार्टी प्यालेसमा नागरिक सुनुवाई (सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया) कार्यक्रम सम्पन्न भएको छ।

सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, र प्रहरी सेवामा पारदर्शिता एवं जनउत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले अत्यन्तै छोटो समयमा आयोजना गरिएको भए पनि उक्त कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी, पत्रकार, र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन कुमार तिमल्सिना*ले प्रहरी प्रशासन जनताको सेवामा प्रतिबद्ध रहेको स्पष्ट पार्दै नागरिकको सहभागिताले मात्र सुशासन र सुरक्षाको प्रत्याभूति गर्न सकिने बताए।

उनले जनगुनासो, सुझाव र सल्लाहलाई खुलेर राख्न अनुरोध गर्दै प्रहरी संगठन पारदर्शी, उत्तरदायी र जनमैत्री बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

सोही अवसरमा कार्यक्रमका सभापतित्व समेत गरेका इटहरी–२० का वडा अध्यक्ष मणिराम श्रेष्ठले हालको सुरक्षा अवस्थालाई सन्तोषजनक भएको उल्लेख गर्दै स्थानिय प्रहरी, विशेषतः तरहरा प्रहरी टोलीको प्रशंसा गरे।

उनले सुरक्षाको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएका प्रहरीप्रति धन्यवाद दिँदै भने, “अझै पनि केही चुनौतीहरू बाँकी छन्, अपराध र लागूपदार्थ समस्याबाट जोगिन प्रत्येक नागरिक सक्रिय हुनु जरुरी छ।”

श्रेष्ठले तरहराको पहिचान निर्माणमा योगदान पु¥याउँदै आएको तरहरा रन, साइक्लिङ, उत्सव र कविता गोष्ठी जस्ता कार्यक्रमको प्रशंसा गर्दै यस्ता रचनात्मक कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताए।

सार्वजनिक सुनुवाइमार्फत प्रहरी र जनताको सम्बन्ध अझ सुदृढ हुनुका साथै सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ, इटहरी उपमहानगरपालिका वडा नं। २० का कार्यवाहक अध्यक्ष तनुज गुरुङ (सुरेश) गोर्खा खबरसँग बताए ।

उनले वडावासी, युवा, समाजसेवी, पत्रकार लगायत सबैलाई सहभागिता जनाई कार्यक्रम सफल बनाएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता अन्तरक्रियात्मक कार्यक्रम निरन्तर गरिनुपर्ने धारणा राखे ।

*तिमल्सिना हुनुपर्नेमा काफ्ले भएकोमा सच्याईएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *