उद्योग वाणिज्य संघ इटहरी असन्तुष्टि, कार्यसमिति सदस्यद्वारा फरक मत
इटहरी : उद्योग वाणिज्य संघ इटहरीमा असन्तुष्टि चुलिएको छ ।
संघभित्रको करसम्बन्धी निर्णय प्रक्रिया र कार्यशैलीप्रति असहमति जनाउँदै ९ जना कार्यसमिति सदस्यहरूले फरक मत राख्दै आफ्नो सार्वजनिक अभिव्यक्ति दिएका छन्।
उनीहरूले संघमा कर विवादका विषयमा आन्तरिक राजस्व कार्यालयको स्पष्ट निर्देशनलाई पूर्ण रूपमा लागू नगरेको, उद्योग व्यवसायीहरूको नवीकरणमा ५० प्रतिशत छुट दिइनु, कर तिर्ने व्यवसायीको अपमान हुनुस्ता घटनाले गम्भीर असर पारिरहेको भन्दै असन्तुष्टि जनाएका हुन्।
कार्यसमिति सदस्यहरू राजेन्द्रकेशरी घिमिरे, उमानाथ दाहाल (उमेश), सुरेश कार्की, बलबहादुर न्यौपाने, राकेश श्रेष्ठ, ढुण्डिराज गुरागाईं, दिलिप पराजुली, अभिषेक बस्नेत र सुभाष गौतमले संघको निर्णय प्रक्रियालाई अलोकतान्त्रिक, अपारदर्शी तथा व्यवसायीको हितविपरीत भएको आरोप लगाएका छन्।
साथै, संघका केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थका लागि कानुनी प्रक्रियाको अपमान गरेको गम्भीर आरोप लगाएका छन्।
आन्तरिक राजस्व कार्यालयको निर्देशनअनुसार कर नतिर्ने सदस्यलाई संघको मताधिकार नदिने स्पष्ट नीति लागू नगरिनु, व्यवसायीको नाममा कर तिर्नुपर्ने अवस्था आएपछि पनि संघले मौन बस्नु, संघभित्र निर्णय प्रक्रियामा पारदर्शिता र संवादको अभाव हुनु, संघमा व्यक्तिवादी नेतृत्व र त्यसको निर्णयले व्यवसायीमाथि नकारात्मक असर पर्नुजस्ता समस्या भएको उदृत गरे ।
२०७९ साल माघ २८ गते भएको निर्वाचनमा कांग्रेस निकट जीवन पराजुली अध्यक्षमा निर्वाचित भएका थिए। खसागरी एमाले निकट व्यवसायीहरूले पत्रकार सम्मेलन गर्दै अध्यक्ष पराजुलीले विधान विपरीत मनोमानी ढंगले चलेको आरोप लगाएका हुन्।
