किनकी, लोकप्रिय आदिवासी जनजातिका अगुवाहरू वा कुनै पनि असल पात्रविरुद्ध फोनिजको नेतृत्व तहमा बसेर फोनिजकै सिद्धान्त विपरीत नियोजित एवम् प्रायोजित भ्रम फैलाईने काम गरिन्छ भने त्यस्ता पात्रहरुले तत्काल पदीय जिम्मेवारीबाट अलग हुन उचित ठहरिन्छ ।
सन्दर्भः केही जिम्मेवार नेतृत्वका संस्थागत सिद्धान्त विपरीतका अभिव्यक्ति तथा दास मनोवृत्तिजन्य व्यवहार बारे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भित्रका केही जिम्मेवार नेतृत्वको फेशबुक लगायतका सामाजिक संजालमा सार्वजनिक अभिव्यक्ति र गतिविधिमाथि गम्भीर आपत्ति व्यक्त गर्दै संस्थागत सिद्धान्तको पूर्ण पालनाका लागि गम्भीर ध्यानाकर्षण र सार्वजनिक अपिल गर्दछु। यस विषयमाथि गम्भीर भई आवश्यक संस्थागत पहलका लागि श्रद्धेय अध्यक्ष श्री लक्की चौधरी ज्यू लाई विनम्रतापूर्वक आह्वान एवम् निवेदन गर्दछु।
राजनीतिक दल, जातपात, धर्म, लिङ्ग, क्षेत्र वा वर्गको संकीर्ण घेराभन्दा माथि रहेर देशलाई सबैभन्दा पहिले र माथि राखेर नयाँ नेपालमा सक्रिय बनिए मात्र हाम्रो कदम, योगदान र संस्थाको गरिमा सुरक्षित रहनेछ ।
फोनिजको नेतृत्व तहमा रहेर आदिवासी जनजातिको हकहित, अधिकार र समानताका लागि संघर्ष गर्ने प्रण गरेका केही साथीहरूले हालै सामाजिक सञ्जालमा व्यक्त गरेका विचार (निबन्धहरू) संस्थाको मूल सिद्धान्त विपरीत र घोर दास मनोवृत्तिको द्योतक देखिएका छन् । यस किसिमको लाजमर्दो कार्यप्रति म कठोर आपत्ति जनाउँदै गहिरो खेद व्यक्त गर्दछु ।
हामी लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास राख्छौं। जुनसुकै राजनीतिक दल (एमाले, कांग्रेस, माओवादी वा अन्य) मा आस्था राख्न पाउनु र कानुनसम्मत रूपमा आफ्नो अनुकूलताअनुसार पार्टीलाई जायज पक्षमा सहयोग गर्नुलाई अन्यथा मान्न सकिँदैन ।
तर, जब फोनिजको पदीय जिम्मेवारीमा बसेर संस्थाको आधारभूत विचार र सिद्धान्तलाई नै कुल्चँदै, दलको गलत कदमको विरोध र आलोचना गर्न नसकेर हुतिहारा वा दास प्रवृत्ति प्रदर्शन गरिन्छ अनि, जेनजीका साथीहरू, राई साम्पाङ हर्क, गुरुङ सुधन, घिसिङ कुलमान, रोइत सुन्धुक, पुन महावीर जस्ता आदिवासी जनजातिका लोकप्रिय अनुहार र जनमुद्दाहरूमाथि चै फोनिजको सिद्धान्त विपरीत सामाजिक सञ्जालमा भ्रामक गतिविधि गरिन्छ, यस्ता गतिविधि विरोध घोर आपत्ति र क्षोभ प्रकट गर्न जरुरी छ । तिनलाई सचेत र कडा निर्देशन गर्न पनि आवश्यक छ ।
किनकी, लोकप्रिय आदिवासी जनजातिका अगुवाहरू वा कुनै पनि असल पात्रविरुद्ध फोनिजको नेतृत्व तहमा बसेर फोनिजकै सिद्धान्त विपरीत नियोजित एवम् प्रायोजित भ्रम फैलाईने काम गरिन्छ भने त्यस्ता पात्रहरुले तत्काल पदीय जिम्मेवारीबाट अलग हुन उचित ठहरिन्छ ।
फोनिजको भावना, पदीय जिम्मेवारी र धर्मको ख्याल नगरी संस्थाको सिद्धान्त विपरीत लेखिने निबन्ध होस् वा पोखिने विचार कुनै पनि हालतमा स्वीकार्य हुनु हुदैन् । अन्यथा, त्यस्ता नेतृत्वहरूलाई सच्चा फोनिजक्रमीबाट नैतिकताको “कट्टु दान” गरिनेछ—ताकि उहाँहरूको लाज ढाकियोस्। यो सांकेतिक मात्र नभई गम्भीर ध्यानाकर्षण हो।
हामी कसैको विचार, व्यवहार वा चरित्र परिवर्तन गर्न सक्दैनौं। कसैलाई थुतेर वा तानेर फ्याँक्छौं भन्न पनि हाम्रो सिद्धान्त विपरीत हुनेछ । तर, फोनिजको सिद्धान्त, भावना, विचार र धर्म विपरीत हिँड्ने कुनै पनि साढे वा गतिछाडा (सांकेतिक) नेतृत्वलाई खबरदारी चै निरन्तर गरिरहने नै छौं ।
राजनीतिक दल, जातपात, धर्म, लिङ्ग, क्षेत्र वा वर्गको संकीर्ण घेराभन्दा माथि रहेर देशलाई सबैभन्दा पहिले र माथि राखेर नयाँ नेपालमा सक्रिय बनिए मात्र हाम्रो कदम, योगदान र संस्थाको गरिमा सुरक्षित रहनेछ । यसतर्फ थप गम्भीर, जिम्मेवार र सजग रहन जिम्मेवारी तहका नेतृत्व एवम् समग्र फोनिजकमीैलाई विनम्र निवेदन गर्दछु ।
जय फोनिज
नवीन गुरुङ्ग
फोनिज, सुनसरी
