इप्रकाको स्थान: भावनात्मक होईन, विवेकपूर्ण निर्णय गरौँ

0

सका लागि बजार क्षेत्र, राजमार्गको नजिक वा उच्च अपराध दर भएका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर उपयुक्त स्थान छनोट गर्नु नै बुद्धिमानी हुन्छ।

police itahari off-min

नबिन गुरुङ (गुरुङ सोल्टी)
इटहरी २०, तरहरा

गत भदौ २४ गते भएको जेन जी प्रदर्शन (आन्दोलन)ले ईलाका प्रहरी कार्यालयको भवन र सामग्रीमा ठूलो क्षति पुर्‍याएपछि साबिकबाट विस्थापित भएका प्रहरीहरूले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र आफ्नो कर्तव्य निरन्तर जारी राख्नका लागि हालः तरहरा प्रहरी चौकीबाट सेवा दिइरहेका छन्।

प्रहरीले यो संक्रमणकालमा तरहराका स्थानीय समुदायबाट बलियो समर्थन पाउनु विश्वका लागि तरहरा कतिसम्म उदार छन् भनि संसारलाई देखाएको छ । यति मात्र होईन, सबैतिर सरकारी, निजी समेत, संरक्षणा र सम्पत्ति ध्वस्त पारिदा, हुदाँ तरहराको चौंकी, वडा कार्यालय लगायत सरकारी संरक्षणा सुरक्षित हुनुले तरहरा कति सुरक्षित र एकबद्ध छ भन्ने समेत प्रष्ट्र पारेको छ । यति उदार र सुरक्षित तरहरामा र्दुभाग्य यो नहुनु पर्ने हल्ला/तर्क र विचारले चै फेरि नकारात्मक सन्देश प्रवाह गरेको छ ।

तरहरामा अस्थायी रूपमा सञ्चालित इलाका प्रहरी कार्यालय (ईप्रका) लाई स्थायी रूपमै यहीँ राख्नुपर्ने भन्ने विषयको सार्वजनिक हल्ला/तर्क र सामाजिक सञ्जालमा आएका विचारहरूले गम्भीर प्रश्न उठाएका छन्। केही राजनीतिक दलका जेन वाई, एक्स हामी र अन्य व्यक्तिहरूले यस विषयमा देखाएको भावावेशले समग्र नगरको सुरक्षा र विकासबारेको हाम्रो दृष्टिकोणको कमजोर पक्षलाई उजागर गरेको छ ।

यस संवेदनशील विषयमा कुनै पनि निर्णय गर्दा भौगोलिक पहुँच, जनघनत्व, र अपराधको सम्भावना जस्ता महत्वपूर्ण पक्षहरूलाई प्राथमिकता दिनु आवश्यक छ । यी वैज्ञानिक र रणनीतिक मापदण्डहरूलाई बेवास्ता गरी केवल भावनात्मक वा क्षेत्रगत स्वार्थका आधारमा कुनै पनि निर्णय गर्नु हाम्रो बौद्धिकता, विवेक र चेतनाको स्तरलाई कमजोर देखाउनु मात्र हो।

इटहरी उपमहानगरपालिकाको विशाल क्षेत्रफल र बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै, प्रहरीको पहुँचलाई हरेक टोल र वडामा पुर्‍याउनु तथा आपत्कालीन अवस्थामा छिटो सेवा दिन सक्नु अहिलेको प्रमुख आवश्यकता हो। यसका लागि बजार क्षेत्र, राजमार्गको नजिक वा उच्च अपराध दर भएका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर उपयुक्त स्थान छनोट गर्नु नै बुद्धिमानी हुन्छ।

जसरी विगतमा हाँसपोसा गाविसलाई इटहरी नगरपालिकासँग एकीकृत गर्ने निर्णय गर्दा धेरैले विरोध गरेका थिए, त्यसैगरी आज पनि विवेकपूर्ण कुरा गर्दा गाली सुन्नु सामान्य हुनसक्छ। तर हामीले यो यथार्थलाई स्वीकार गर्नुपर्छ कि इटहरी भनेको मुख्य चोक मात्र होइन, न त तरहरा मात्रै। समग्र नगरको हितलाई ध्यानमा राखी सही निर्णय लिनु नै हाम्रो सामूहिक दायित्व हो। यसरी संकीर्ण सोच राखी तरहरा मात्रै इटहरी हो भन्ने जस्तो मानसिकता प्रदर्शन गर्नु कुनै पनि दृष्टिकोणबाट उचित छैन।

यस विषयमा आम सचेत, विवेकशील र चेतनशील तरहरावासीको तर्फबाट म सबैलाई आग्रह गर्न चाहन्छु: हामीले आफ्नै क्षेत्रमा ईप्रका होस् भन्ने कामना, आशा वा चाहना राख्नु अनुचित होइन। तर, यसलाई जबरजस्ती राजनीतिक एजेन्डा बनाएर समग्र इटहरीको सुरक्षालाई कमजोर बनाउनु दुर्भाग्यपूर्ण हुनेछ।

त्यसैले, यस विषयमा भावावेशमा नभई विवेकसम्मत ढंगले सोच्न र इटहरीको बृहत्तर हितलाई प्राथमिकता दिनु नै आजको आवश्यकता देखिन जान्छ । जय इटहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *