इटहरीको पकलीमा जेनजी आन्दोलनपछि नेपाल प्रहरीलाई स्वागत

0
police pakali dhirendra chaudhary-min

धिरेन्द्र कुमार चौधरी (फोटो पनि)

२०८२ असोज ६, सोमबार

रामधुनी: इटहरी-१७ मा रहेको इलाका प्रहरी कार्यालय, पकली, सुनसरीमा कार्यरत नेपाल प्रहरीलाई सोमबार स्थानीय बासिन्दाले एक कार्यक्रमबीच स्वागत गरेका छन्।

कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा स्थानीयहरूले प्रहरीलाई स्वागत गरेका हुन्। जेनजी युवाहरूको भ्रष्टाचार र सामाजिक सञ्जालको बन्द विरुद्धको आन्दोलनका क्रममा भदौ २४ गते प्रहरी कार्यालयमा प्रदर्शनकारीहरूले गरेको आगजनीका कारण विस्थापित भएका प्रहरीहरूलाई स्थानीयले स्वागत गरेका हुन्।

कार्यालयको प्रवेशद्वारमै स्थानीयले नेपाल प्रहरीलाई अबिर र खादा लगाएर स्वागत गरेका थिए। कार्यालयका अनुसार यहाँ ६२ जना प्रहरी कार्यरत छन्।

कार्यक्रममा कार्यालयका प्रहरी निरीक्षक लेखनाथ दाहालले स्थानीयबासीले स्वागत तथा सम्मान गर्दा आफूहरूको मनोबल उच्च भएको बताउँदै शान्ति सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए। उनले विगतमा पनि प्रहरीले विभिन्न आन्दोलनहरू झेलिरहेको र प्रहरी र जनताबीच नङ र मासुको सम्बन्ध रहेको बताए।

कार्यक्रममा स्थानीय भिम लुइँटेलबिरेन्द्र रायले शान्ति सुरक्षाका लागि नेपाल प्रहरी आवश्यक रहेको बताए। प्रहरी कार्यालय पुनर्निर्माण समितिका अध्यक्ष ज्ञान बहादुर बस्नेतले समुदायसँग प्रहरी हुनुपर्ने र प्रहरी हुँदा मात्र ढुक्कले सुत्न पाइने अनुभव सुनाए।

करिब पाँच सय घरपरिवारका स्थानीयले दश लाख रुपैयाँ संकलन गरी आगजनीबाट क्षति पुगेको कार्यालयको पुनर्निर्माण गरेका हुन्। समितिका अनुसार स्थानीयको सहयोगमा कार्यालयको मर्मतसम्भार, रङरोगन, र फर्निचर व्यवस्थापन गरिएको छ। प्रहरी नहुँदा रातिको समयमा चोरको आतंकले गर्दा स्थानीय बासिन्दाले समिति खडा गरेर रात्रि गस्ती गर्न थालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *