अग्रज अभिभावक गुमाउनुको शोक र पीडालाई धैर्य र शक्तिमा बदल्न समय लाग्छ तर सूर्य सरले देखाउनु भएको इमानको बाटो, बाल्नु भएको चेतनाको दियो, वकालत गर्नुभएको समानता र परिवर्तनको आकांक्षालाई पूरा गर्ने दायित्व हामी सबैको काँधमा आएको छ ।
अभिभावक गुमाउनुको पीडा सन्तानले मात्र अनुभूत गर्न सक्छन् । शोकले संवेदना हुनेहरूलाई नै बढी व्याकुल बनाउँछ । सूर्य अस्ताएपछि आउने चकमन्न अँध्यारो रातले टुहुराटुहुरीलाई नै तर्साउँछ । श्रद्धेय सूर्य राई सरको देहावसानमा हाम्रो तरहराले यही पीडा महसुस गरेको छ । तरहरावासी हामी अभिभावक विहीन भएका छौँ र शोकको सन्तापले आकुलव्याकुल बनेका छौँ ।
यस क्षेत्रकै बौद्धिक व्यक्तित्व, भूगोलका प्राध्यापक, शालीनताका पर्याय, परिवर्तन र विकासको लागि सधैँ चिन्तित रहने आदरणीय सूर्य सर सबैले मानेका अग्रज हुनुहुन्थ्यो । हातमा डायरी लिएर अध्यापनमा जाँदा होस् वा कुनै सामुहिक छलफलमा सहभागी भएको बेला होस् उहाँको सरल स्वभावले सबैको ध्यान आकर्षित गथ्र्यो । समस्या देखाउने मात्र नभएर त्यसको समाधान, विधि र प्रक्रिया समेत बताउने उहाँ प्रस्ट वक्ता भएकैले उहाँ सबैको प्रिय व्यक्तित्व हुनुहुन्थ्यो ।
तरहरा क्षेत्रको शैक्षिक उन्नयनमा अग्रणी उहाँ सबैले मानेका सच्चा राजनीतिक व्यक्तित्व र समाजसेवी भावनाले ओतप्रोत लिडर पनि हुनुहुन्थ्यो । समकालीन, उमेरले आफूभन्दा साना र ठूला सबैसँग मित्रवत् व्यवहार गर्ने खूबी र बानीले गाउँघरमा उहाँ उत्तिकै लोकप्रिय हुनुहुन्थ्यो । वचन र व्यवहार दुवैमा समानताका कट्टर पक्षपाती सूर्य सर धेरैका आडभरोसाका केन्द्र भएकैले सबै वर्ग, धर्म, समुदाय र उमेरका मानिस उहाँप्रति श्रद्धानत थिए र छन् ।
पत्याउनै कठिन दुःखद समाचार बनेर आएको सूर्य सरको अवसानले यस तरहरा क्षेत्रका नागरिकको आशाको दियो निभेको छ । अनुहार मलिन भएको छ । हिँड्ने बाटो अस्पस्ट देखिएको छ । सल्लाह लिने ठाउँ रित्तो भएको छ । भरथेग पाइने आश टुटेको छ । सपना छरिएको छ । शिक्षा र खेलकुद क्षेत्र अलमलिएको छ । रातको साम्राज्य छाएको छ । सूर्य सर रहुञ्जेल उज्यालो देखिएको तरहरा औंशीको रातझैँ स्तब्ध छ । अग्रज अभिभावक गुमाउनुको शोक र पीडालाई धैर्य र शक्तिमा बदल्न समय लाग्छ तर सूर्य सरले देखाउनु भएको इमानको बाटो, बाल्नु भएको चेतनाको दियो, वकालत गर्नुभएको समानता र परिवर्तनको आकांक्षालाई पूरा गर्ने दायित्व हामी सबैको काँधमा आएको छ ।
आदरणीय व्यक्तित्व सूर्य सरको निष्ठालाई नमन गर्दै उहाँलाई हार्दिक श्रद्धाञ्जली । अल बिदा सूर्य सर ।