भुइँ नछोडेका गगनचुम्बी व्यक्तित्व
आर्काइभबाट
सूर्यसरको संझनामा लेख्दा निरन्तरको समाजले अनुकरण गर्नेखालको केहि साधरण तथ्यहरु मात्रै लेख्न सक्दा पनिसमाज, टोल-स्थानीय स्तरको सानो भन्दा सानो क्रियाकलापमासमेत सधै सक्रिय सूर्यसर प्रति साचो श्रध्दाञ्जली हुनेछ ।
प्रकाश राई

२०७८ असारको १३ गते शनिवार अपरान्ह आकाशको उत्तर तिर कुहिरोहरु मडारिएको देखिए पनि केहि दिन अगाडि देखिको झरी शान्त थियो,छिमेकी भिमा राई दिदीले अप्रत्यसित आकाश खशे झै पत्याउनै नसकिने अकल्पनिय सूर्यसरको मृत्युको खवर सुनाउदा अचम्मित निशव्द, स्तव्ध वनाउदै, भुकम्पले झै हल्लायो।
पूर्व क्षेत्रको पुरानो परिचित प्रतिष्ठित महेन्द्र वहुमुखी क्याम्पस धरानमा सूर्यसरलाई भूगोलको प्राध्यपकको रुपमा मात्र नभइ वहु आयामिक तर सरल-सहज व्यक्तित्वको रुपमा हामी विद्यार्थीहरु उहाँलाई सम्मान गर्थ्यौ । समयक्रमसँगै सूर्य सर त्रि.वि. प्राध्यापक संघ महेन्द्र वहुमुखि क्याम्पस धरानको सभापति हुदा म पनि स्ववियूको सभापति भएर प्रत्यक्ष सहकार्य गर्ने अवसर प्राप्त भयो । त्यहाँ देखि निरन्तर अन्तरक्रियामारहदै कलान्तरमा एउटै थलो इटहरी २० तरहराको वासिन्दाको रुपमा रहने अवसर प्राप्त भयो । यो अवसरलाइ मैले जहिल्यै सगौरव वरपिपलको फेदमा रहेको अनुभूतिको रुपमा संगाल्ने गर्थे ।मृत्यु निश्चित छ र हर मृत्यु आकस्मिक पनि हुन्छ तर सूर्य सरको जस्तो अति अपर्झट मृत्यु विरलै हुन्छ। सूर्यसरको श्रध्दाञ्जली स्वरुप कसरी लेखौ के लेखौ एक साधरण मान्छे संझिएर लेखौ कि! एउटा असाधरण व्यक्तित्व भनेर लेखौ!मनभरि अनेक तरङ्ग-विरोधाभाष आयो, अन्ततभुइँ नछोडेका गगनचुम्वि व्यक्तित्वको रुपमा केहि लेख्छु भन्ने निश्कर्षमा पुगें । सूर्यसरको संझनामा लेख्दा निरन्तरको समाजले अनुकरण गर्नेखालको केहि साधरण तथ्यहरु मात्रै लेख्न सक्दा पनिसमाज, टोल-स्थानीय स्तरको सानो भन्दा सानो क्रियाकलापमासमेत सधै सक्रिय सूर्यसर प्रति साचो श्रध्दाञ्जली हुनेछ ।
एक आम साधरण मान्छेको रुपमा सधै सक्रिय असाधरण व्यक्ति
हाम्रो समाजमा एउटा जटिल सामाजिक संक्रमण छ । ओहोदामा पुग्दै गएपछि,सामाजिक मानमनितो वढ्दै गएपछि उसका सर संगत, खानपनि, वसउठ,वोलिचाली विशेष खालको हुदै जाने स्थिति रहन्छ । गाउँ छिमेकको धुलो मैलौ वेवास्ता गर्दै मोफसल/स्याटलाईट एरिया त्याग्दै काठमाण्डौ वा ठुलो स्टार शहरमा वसाइ सराइ गएर उच्च शक्तिवालासँग सरसंगत गर्ने, ठूला- ठूला राजनीतिक नियुक्ती लिइरहने, यस्तै मान्छेलाई सफल,भव्य गतिलो मान्छेको उपमा दिइन्छ । तर सूर्य सर यसको अपवाद रहनुभयो । जसरी पनि पद र शक्ति लिनपर्छ भन्ने आजको समकालिन वैश्य समाजमा सिक्नुपर्ने यो भन्दा ठुलो शिक्षा अरु के नै होला र ?? सूर्य सरले गाउँ-टोल,छरछिमेक कहिल्यै छोड्नु भएन । स्थानीय कार्यक्रम ,कहचरी -छलफल सवैमा आम मान्छे भएर विनाशर्त सक्रिय हुनुभयो र यसै गरेर जीवन कटाउनु भयो । भुइँ कहिल्यै छोड्नभएन ।
प्राधिकार नखोज्ने,सामूहिक निश्कर्षमा विश्वास राख्न सक्ने क्षमता भएको व्यक्तित्व
मान्छेमा पद योग्यता र हैसियत वन्दै गएपछपि विशेष हैसियत खोज्ने आफूलाइ व्यक्ति भन्दा पनि संस्थाको रुपमा स्वघोषणा गरेर हिड्ने, प्रतिष्ठित क्याम्पसको प्रमुख भइसक्नु भएको सूर्य सरमा मैले भनिसकेपछि हुनुपर्छ प्रवृत्ति मानवीय कमजोरीको रुपमा देखापर्छ । तर सूर्य सर यसको अपवाद हुनुहुन्थ्यो । अफ्ठारो कालखण्डको प्राध्यपक र चर्चित क्याम्पसको क्याम्पस प्रमुख मात्रै हैन राजनितिक हैसियत र पहुँच भएको व्यक्ति, प्राध्यपक संघको अगुवाको रुपमा ख्याति कमाउनु भएका व्यक्तिलाइ मैले स्ववियूको सभापति भएर सहकार्य गर्दाहोस वा राजनीतिक रुपमा चुनावहरुमा स परिचालित हुदा वा सानो भन्दा सानो सामाजिक समस्यको वारेमा छलफल गर्दा अथवा वौध्दिक विमर्श गर्दा पनि आफुमा कहिल्यै प्राधिकार खोज्नु भएन । विशेष हुँ मैले भनेपछि सकियो भनेर कहिल्यै दावी गर्नुभएको मलाइ याद छैन। व्यक्तिवाद फस्टाएको उपभोक्तावादी समाजमा सूर्य सर जस्तो अपवाद व्यक्ति हाम्रो लागि पाठशाला हो । तर अव संझना/शिक्षाहरु मात्रै छोडेर जानु भयो ।
पाथीमा मंजुर हुने मुरीको व्यक्तित्व
शक्तिको होडमा निर्लिप्त समाजमा मानिसहरु हिप्पोक्रेसी नै सहि आफ्नो वजन किलो छ भने क्विन्टलको दावी गरेर हिड्ने अभ्यास देखिन्छ । जुन कारणले सोकल्ड ठालू हुने प्रवृत्ति समाजको रोग नै भएको छ । तर यस्तै समाजको मुरीको व्यक्तित्व भएको सूर्य सर पाथीमा नै सहजै मंजुर हुने व्यक्तिको रुपमा आफूलाइ स्थापित गराएर जानु भयो । सानो कार्यक्रममा गएर सहजै अतिथि/प्रमुख अतिथिको रुपमा आसन स्विकार गर्ने अतिरिक्त मान नखोज्ने व्यक्तित्वको रुपमा पहिचान वनाउनु भयो । पछिल्लो पटक सरकारले भूमि सम्वन्धि समस्या समाधान आयोगको सुनसरी जिल्लाको विज्ञ सदस्यको रुपमा गरेको मनोनयलाई स्विकार गरेर मुरी हैसियत पाथीमा पनि मंजुर भएर सोकल्ड पद प्रतिष्ठालाई अन्देखा गर्न सक्ने हैसियत जो कोसँग हुदैन भनेर प्रमाणित गर्नुभयो।हुनत सूर्यसरका धेरै शुभचिन्तकहरुले सर नेताकोमा धाउनुहुन्न वा ठुलाहरुसँग उठवस गर्नुहुन्न, काठमाण्डौ धाउनुहुन्न त्यसकारण ठुलो नियुक्ती पाउनु भएन भनेर सरको कमजोरीको चर्चा गरेर चिन्ता गर्ने गर्थे तर मलाई तपाईको यहि कमजोरी नै खास लाग्थ्यो । त्यसैले आदरणिय सूर्य सर तपाईलाई झुकेर नमस्कार गर्दा हरहमेसा गौरव महसुस भइरह्यो ।
एकिकृत वामपन्थि आन्दोलन सिमान्तहरुको कट्टर पक्षपाती
सूर्य सरसँग एकिकृत वामपन्थी आन्दोलनको वारेमा वौध्दिक विमर्श वेला वेलाम चल्थ्यो । म उहाँलाई सुन्न चाहान्थे तर उहाँ उल्टै मवाट सुन्न चाहानुहुन्थ्यो । पार्टि विभाजन तिर जाने कुराले उहाँ चिन्तित हुने गर्नुहुन्थयो । र नेपालको वामपन्थि आन्दोलनको निर्मम समीक्षा गर्नुहुन्थ्यो । अर्कोतर्फ उहाँ जाती.भाषा- संस्कृति र पहिचानहको सवालमाविना पाखण्ड स्पष्ट दृष्टिकोण राख्नुहुन्थ्यो । यस्ता विषयमा म सरको श्रोता वनेर सुन्ने सिक्ने गर्थे तर मलाइ पनि अन्तर्कियामा ओराल्नुहुन्थ्यो । यस्ता विषयमा हामी लघु समयमा धेरै संवाद गर्थ्यौ । उहाँवाट म सुनेर धेरै लाभ लिन्थे । म भूगोलको विद्यार्थि नभएपनि पछिल्लो पटकमा भूगोल शिक्षाको वारेमा ममा एकखालको उत्सुकता वढ्दै गएको थियो र नेपालको भूगोलको वारेमा तपाईवाट धेरै सुन्ने र सिक्ने चाहना साच्दा साच्दै अव कहिल्यै त्यो चाहना पुरा नहुने गरि सरले हामीलाई छोडेर जानुभयो । सूर्यसरवाट भूगोल सिक्ने मेरो त्यो उत्कट चाहना यतिकै भयो ।
पुछारमा
परिवारिक वेमेल र विघटन अनेक खवर सुनिने हाम्रो समाजमा सदावहार नयाँजोडी जस्तै महसुस गराउने सूर्य सर र निरा मेडमको अर्धाङ्गनी भन्न लायकको सम्वन्ध सधैभरिलाई विघटन भएपछि निरा मेडमलाई एक्लै देख्न हामीलाई अगम महसुस भइरहनेछ । सर र मेडमको जोडी र सहकार्य देख्दा म सूर्य सरले नसुन्ने गरि समाजशास्त्र वुझेका भूगोलविद भनेर टिप्पणी गर्थे/ठट्टा गर्थे । खाशमा तपाई भुगोलको प्राध्यपक भएर नै होला भुइँ छोड्न कहिल्यै तम्सनु भएन, तर भूइ नछोड्नुको अर्थ तपाई आकाश तिर/उचाइ तिर जानु भएन भन्ने हैन । त्यसैले दोहोर्याएर भन्न मन लाग्छभुइँ नछोडेका गगनचुम्वी व्यक्तित्व, अलविदा सूर्य सर ।
–प्रष्ट वक्ता लेखक राई हाल एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका महासचिव हुनुहुन्छ । उहाँ गोर्खा खबरका सल्लाहकार समेत हुनुहुन्छ । उहाँ महेन्द्र बहुमुखी क्यामपस धरानका पूर्व स्ववियू सभापति हुनुहुन्थ्यो ।
