निराश तरहरा ! (स्थानीय तह निर्वाचन)

0

स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने उम्मेदवारले विशेषतः पिछाडीएका वर्ग, उत्पीडनमा परेका र स्थानीय तह वा, राज्यसँग पहुच नभएका वा पुराउन नसकेका समुदायका दिर्घकालिन र दिगो हितका लागि समयासान्दर्भिक, प्रामाणिक, प्रभावकारी र इमान्दारितापूर्वक काम गरिदिए, निराश तरहरा (वडा नं. २०) को नैराश्यतामा परिवर्तन आउन सक्छ ! सकोस्, शुभकामना ।

Nabin Gurung election review

आर्काइभबाट

राजनीतिक, सामाजिक, आर्थिक, वैचारिक रुपमा स्वतन्त्र र निष्पक्ष भई प्रस्तुत गरिएको विचार/विश्लेषण कसैको पक्ष/विपक्षमा छैन् । यो लेखकको स्वतन्त्र विचार/विश्लेषण हो । उनी सम्बद्ध/आवाद्ध संस्थासँग यसले सरोकार राख्दैन । – सम्पादक

छोटोमा भन्दा, शाब्दिक रुपमा, तरहरा सबैका लागि गर्व गर्ने र गर्वका साथ बस्न सक्ने एक दिगो शान्त र सुन्दर तर, अग्रगामी–गतिशील–घर (शहर/समाज) बनाईदियोस् भन्ने चाहान्छन् आम जनता । यत्ति भन्न एमाले र राप्रपाका उम्मेदवारले कागजको खोस्टा नै हेरिरहनु पर्ने थिएन्, न कांग्रेसका उम्मेदवार चर्की र झर्की हाल्नु पर्ने थियो । यसकारण, तरहरामा जन गन्थन भएको हो- यसपटक तरहराले योग्य उम्मेदवार नै पाएको छैन् । यसकारण, तरहरा निराश छ ।

नवीन गुरुङ

एक दिगो र गतिशील वहा ! तरहरा (इटहरी उपमहानगरपालिका वडा नं. २०) निमार्णका लागि हाम्रा चुनौती र समस्याहरु के के हुन वा, के कस्ता छन् ? र, त्यसका निम्ति हाम्रा तयारी के ? हाम्रो भुमिका कस्तो हुनुपर्छ ? भन्ने रूपरेखा तयार पारेर तोकिएको सिमित अवधिमा आम वडावासीका मन जित्ने प्रयत्न गरिनु पर्नेमा तरहरामा जेसिजले आयोजना गरेको ककसमा वडाध्यक्षका निम्ति उम्मेदवारी दिएका नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारहरुका प्रस्तुती र शैली हेर्दा उदेक र झिन्झट मात्र लागेन्, निराश समेत तुलायो ।

चर्को कांग्रेस, सुस्त एमाले र राप्रपा

आफ्ना चुनावी कार्ययोजना सुनाउन दिईएको समयमा कागजको खोस्टामा लेखिएका आफ्नै प्रतिबद्धता (घोषणा पत्र) समेत राम्रोसँग पढ्न/भन्न नसकेका एमाले र राप्रपाका सुस्त नेतृत्व र त्यहीँ कागजी खोस्टा समेत तयारी नगरि आएका कांग्रेसी उम्मेदवारको चर्को स्वर, दुबै पट्यार लाग्दो थियो ।

एमाले र राप्रपाबाट वडाध्यक्षका प्रत्यासीहरुको उदेक लाग्दो सुस्त शैली र गठबन्धनको तर्फबाट कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारको झिन्झट लाग्दो चर्को स्वर तरहराका निम्ति अबको पाँच वर्ष जसले जिते पनि सकसपूर्ण हुने संकेत थियो ।

जनस्तरमा पछिल्लोपटक जन–गन्थन छ, २० नंम्वर (वडा) मा उम्मेदवार नै छैनन् । यसको सिधा अर्थ, यसपाली तरहराले योग्य उम्मेदवार पाएन् । जनताको आशय र उनीहरुले भन्न खोजेका कारण सायद ! यहीँ हुनुपर्दछ कि, हालका उम्मेदवारहरु कोही आफ्नै कुरा प्रष्टसँग राख्न नसक्ने छन् भने कोही चै चर्की र झर्की हाल्ने स्वभावका ।

उपमहानगरपालिकाको मापदण्डमा पर्ने रोड (सडक) निमार्ण, सडक खाल्डो पुरिने र पिच गरिने काम, खेलकुद वा सिटी हल निमार्ण जस्ता परियोजनाहरु, भौतिक पूर्वाधार र संरचनालाई उम्मेदवारले विकास ठान्नु, मान्नु वा भन्नु तिनमा उपमहानगरपालिकाका मापदण्ड बारे ज्ञानका कमि हुनु हो । 

प्रश्नहरु जति नै सुनियोजित, प्रायोजित, निमर्म वा, पूर्वाग्रही नै भए पनि र त्यसलाई जति नै उत्तेजित र असभ्य ढंगले सोधिए पनि एक जिम्मेवार तहमा रहेका जनउत्तरदायी व्यक्ति/संस्थाले त्यसका जवाफ शालिन, भद्र, शिष्ट र मर्यदित ढंगबाट नै दिन उचित मानिन्छ । कोही जंगली बने भन्दैमा आफु पनि पदीय गरिमा र आफ्नो संस्था/दलको मर्यदाको ख्यालै नगरि आफ्नो धर्यता गुमाउने हो भने त्यसले क्षय निम्त्याउछ । यो उम्मेदवार र राजनीतिक दल, दुबैका निम्ति घातक साबित हुन्छ । यसकारण पनि, जनप्रतिनिधिहरु बढी नै संयमित हुन जरुरी छ ।

ढाट्छल योजना !

उपमहानगरपालिकाको मापदण्डमा पर्ने रोड (सडक) निमार्ण, सडक खाल्डो पुरिने र पिच गरिने काम, खेलकुद वा सिटी हल निमार्ण जस्ता परियोजनाहरु, भौतिक पूर्वाधार र संरचनालाई उम्मेदवारले विकास ठान्नु, मान्नु वा भन्नु तिनमा उपमहानगरपालिकाका मापदण्ड बारे ज्ञानका कमि हुनु हो ।

बिजुली, खानेपानी र सञ्चारका सुविधाहरू जस्ता नागरिकका आधारभूत आवश्यकताहरु, उच्च शिक्षा र स्वास्थ्य सेवाको सुविधा, बगैंचा, पार्क, सिटी हलको सुविधा आदि इत्यादि सबै उपमहानगरपालिकाको मापदण्डमा पर्छन् ।

मापदण्डमै पर्ने योजनाहरु सुनाएर आजका जनतालाई मुर्ख ठान्ने हास्यास्पद बेकुफी गरि कुनै पनि उम्मेदवारले ढाट्छल गर्ने अक्षम्य गल्ती र भूल गर्नु हुदैन् ।

निसन्देहः कभर्ड हल निमार्ण हुनु सकारात्मक पक्ष र प्रशंसानीय प्रगत्ती हो तर, यो बुझ्न पनि जरुरी छ कि, उपमहानगरपालिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल सञ्चालनका लागि न्यूनतम भौतिक सुविधा भएका हल निमार्ण उपमहानगरपालिकाको मापदण्डमा नै पर्छ ।

मत र मन जित्न सकिन्थ्यो !

बरु, मापदण्डभित्रका र नियमित विकासका कार्य योजना वा गतिविधि बाहेकका रचनात्मक, श्रृजनात्मक र प्रभावकारी आम जनसंख्याले समर्थन गर्न शहरी रूपान्तरणका परियोजनाहरू के के छन् ? ती प्रस्तुत गरिएका भए आम वडावासीले स्वागत र प्रशंसा गर्थे ।

आर्थिक वृद्धिलाई प्रोत्साहन गरि यहाँका बासिन्दाहरूलाई रोजगारी र अधिकत्तम सुविधाहरू उपलब्ध गराउनका निम्ति उपमहानगरपालिकाबाट वार्षिक रुपमा विनियोजन हुने बजेट बाहेकबाट पनि विकास र आयश्रोतका प्रमुख क्षेत्रहरू/श्रोतहरु पहिचान गरि, निकट अन्तर–सम्बन्ध स्थापित गर्दै उनीहरुसँग समन्वय गरि, समयमै त्यसको कार्यान्वयन गरेर तरहराका आवश्यकताहरूप्रति उत्तरदायित्व बन्दै तरहरा विकासका ठोस योजना र रणनीति बनाएर वडावासीका जीवनस्तरलाई आर्थिक, सामाजिक, राजनीतिक र न्यायिक हिसाबले उकास्ने र सबैलाई उच्च गुणस्तरको जीवन जिउने वातावरण श्रृजना गरिदिने जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने र उनीहरुलाई प्रभाव पार्ने विषय/पक्षमा प्रतिबद्धता आएका भए, मत र मन दुबै जित्न सकिन्थ्यो ।

छोटोमा भन्दा, शाब्दिक रुपमा, तरहरा सबैका लागि गर्व गर्ने र गर्वका साथ बस्न सक्ने एक दिगो शान्त र सुन्दर तर, अग्रगामी–गतिशील–घर (शहर/समाज) बनाईदियोस् भन्ने चाहान्छन् आम जनता । यत्ति भन्न एमाले र राप्रपाका उम्मेदवारले कागजको खोस्टा नै हेरिरहनु पर्ने थिएन्, न कांग्रेसका उम्मेदवार चर्की र झर्की हाल्नु पर्ने थियो । यसकारण, तरहरामा जन गन्थन भएको हो- यसपटक तरहराले योग्य उम्मेदवार नै पाएको छैन् । यसकारण, तरहरा निराश छ ।

त्यै पनि,

स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने उम्मेदवारले विशेषतः पिछाडीएका वर्ग, उत्पीडनमा परेका र स्थानीय तह वा, राज्यसँग पहुच नभएका वा पुराउन नसकेका समुदायका दिर्घकालिन र दिगो हितका लागि समयासान्दर्भिक, प्रामाणिक, प्रभावकारी र इमान्दारितापूर्वक काम गरिदिए, निराश तरहरा (वडा नं. २०) को नैराश्यतामा परिवर्तन आउन सक्छ ! सकोस्, शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *