गायक बिनोद मानव र रोहित तामाङको “अब त आइदेऊ न”

0
Binod Rai news

काठमाडौँ – नेपाली सङ्गीत बजारमा नयाँ तरङ्ग ल्याउने उद्देश्यका साथ बहुप्रतिभाशाली कलाकार बिनोद मानव र रोहित तामाङको संयुक्त प्रस्तुतिमा तयार भएको नयाँ रोमान्टिक गीतको म्युजिक भिडियो “अब त आइदेऊ न” सार्वजनिक भएको छ।

4के अल्ट्रा एचडी प्रविधिमा तयार पारिएको आकर्षक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले यो गीत र यसको भिडियो दर्शकीय रोजाइमा पर्ने विश्वास व्यक्त गरेको छ।

यस गीतमा बिनोद मानव निकै फरक र शक्तिशाली रूपमा प्रस्तुत भएका छन्।

उनले गीतमा सुमधुर स्वर दिनुका साथै सङ्गीत संयोजन समेत आफैँ गरेका छन् । यति मात्र नभई, गीतको म्युजिक भिडियोको मुख्य परिकल्पना र निर्देशन पनि स्वयं बिनोद मानवले नै सम्हालेका छन् ।

गायक तथा सङ्गीतकार बिनोद मानवले आफ्नो यो नयाँ गीत र भिडियोले श्रोता एवं दर्शकको मन जित्ने बलियो विश्वास व्यक्त गरेका छन्।

“हामीले निकै मिहिनेत गरेर गीत तयार पारेका छौँ र भिडियोमा पनि उत्तिकै श्रम खर्चेका छौँ,” मानवले भने, “त्यसैले दर्शक-श्रोताले हाम्रो यो प्रयासलाई अवश्य मन पराइदिनुहुनेछ भन्नेमा हामी ढुक्क छौँ।”

यसपछि पनि आफ्ना थप साङ्गीतिक सिर्जनाहरू निरन्तर बजारमा आउने उनले जानकारी दिए।

इटहरी-२०, तरहराबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका बिनोद हाल काठमाडौँमा बसेर प्राध्यापन गराउनुका साथै सङ्गीत क्षेत्रमा सक्रिय रूपमा व्यस्त छन्।

गीतलाई अझ जीवन्त बनाउन रोहित तामाङले उनलाई स्वरमा साथ दिएका छन् भने रोहित र बिनोद दुवैले मिलेर गीतका भावपूर्ण शब्दहरू कोरेका हुन् ।

म्युजिक भिडियोमा मुख्य अभिनयमार्फत कथालाई पर्दामा उतारिएको छ । बिनोद मानव, बेजिमा राई, पूजा तामाङ र रोहित तामाङ भिडियोका मुख्य कलाकारहरू हुन् ।

भिडियोलाई थप आकर्षक बनाउन मनकाजी गुरुङ, तेगेन्द्र लोहरूङ र सुरेन बान्तवाले सहयोगी कलाकारका रूपमा अभिनय गरेका छन् भने गीतको प्राविधिक पक्षलाई उत्कृष्ट बनाउन राहुल विश्वकर्माको सङ्गीत संयोजन, रुबिन मगरको मिक्सिङरमास्टरिङ र किरण सिंह थापाको रेकर्डिङ रहेको छ ।

त्यसैगरी, विशाल श्रेष्ठले छायाङ्कन, रोहन राजवंशीले सहायक छायाङ्कन, अमर सिंह ल्हायो मगरले ड्रोन र माया प्रधान प्रोडक्सनले शृङ्गारको जिम्मेवारी सम्हालेका छन् ।

उत्कृष्ट सङ्गीत र स्तरीय भिडियो निर्माणका कारण अब त आइदेऊ न ले छोटो समयमै नेपाली सङ्गीत प्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *