इटहरीको जनसभामा हर्क साङपाङको गर्जन, ‘देश भाषणले होइन, पसिनाले बन्छ’
एन.जी. लामा (नगेन्द्र) । इटहरी, सुनसरी
सुनसरीको इटहरीमा आयोजित राष्ट्रिय श्रम संस्कृति पार्टीको एक भव्य जनसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष एवं ‘श्रम पिता’ हर्क साङपाङले देशको वर्तमान राजनीतिक अवस्था र भावी दिशाबारे तिखो टिप्पणी गरेका छन्। हजारौँको संख्यामा उपस्थित जनसहभागितालाई सम्बोधन गर्दै साङपाङले केवल लोकप्रिय अनुहार वा चर्चाको भरमा मात्र देश नबन्ने उद्घोष गरे।
सम्बोधनका क्रममा साङपाङले देश निर्माणका लागि बलियो प्रणाली, इमानदारिता र श्रम संस्कृतिको अनिवार्य आवश्यकता रहेकोमा जोड दिए। उनले भने, “देश केही व्यक्तिको नामले होइन, श्रम, इमानदारी र बलियो प्रणालीले बन्छ। लोकप्रिय अनुहार मात्रै भएर देश बन्दैन।” पछिल्लो समय चर्चामा रहेका नेताहरूतर्फ संकेत गर्दै उनले कुनै व्यक्ति मेयर, अभियन्ता वा प्राविधिक हुँदैमा देश नबन्ने बरु त्यसका लागि श्रमिकको सम्मान र उत्पादनमुखी नीति चाहिने बताए।
जनतालाई भावनामा नबग्न आग्रह गर्दै साङपाङले देश बनाउने शक्ति भाषणमा नभई श्रममा हुने उल्लेख गरे। वर्तमान राजनीतिक संस्कृतिप्रति प्रश्न उठाउँदै उनले राष्ट्रिय श्रम संस्कृति पार्टी सत्ता प्राप्तिको दाउपेचमा नभई समग्र व्यवस्था परिवर्तनको एजेन्डासहित मैदानमा उत्रिएको दाबी गरे। “हामी दलाल र भ्रष्टाचारले होइन, पसिनाले देश बनाउने अभियानमा छौँ,” उनले थपे।
इटहरीको मुख्य बजार क्षेत्र हजारौँ समर्थकहरूले भरिभराउ हुँदा कार्यक्रमस्थल राष्ट्रिय झण्डा र देशभक्तिपूर्ण नाराहरूले गुञ्जायमान बनेको थियो। समर्थकहरूको यो स्वतःस्फूर्त र उत्साहजनक उपस्थितिले साङपाङको अभियानप्रति बढ्दो जनविश्वासलाई प्रष्ट पारेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार इटहरीको यो शक्ति प्रदर्शनले राष्ट्रिय श्रम संस्कृति पार्टी र हर्क साङपाङको बढ्दो राजनीतिक प्रभावलाई स्पष्ट रूपमा देखाएको छ। यस कार्यक्रमले आगामी राजनीतिक परिदृश्यमा श्रम संस्कृति पार्टी एक बलियो वैकल्पिक शक्तिका रूपमा उदाउन सक्ने संकेत समेत गरेको छ।


