ईतिहास कायम गर्दै मौलिक कथामा आधारित “नाकछोङ (बिजुवा)”को ट्रेलर इटहरीमा प्रिमियर

0
film Nakchong

इटहरी । निर्माता ज्योतीराज राईले निर्माण गर्नुभएको सांस्कृतिक तथा सामाजिक कथावस्तु रहेको नेपाली चलचित्र नाकछोङ (बिजुवा) को ट्रेलर उपत्यका बाहिर पहिलो पटक, ऐतिहासिक रूपमा इटहरीको एलिट सिनेमामा भव्यताका साथ प्रिमियर गरिएको छ। लुङ्गा, सङ्गम, त्रिवेणी जस्ता चलचित्रका निर्माता राईले बेलायतमा सफल प्रिमियर भई युरोप र अमेरिकामा समेत प्रदर्शनका लागि बुकिङ भइसकेपछि नेपालमा ट्रेलर सार्वजनिक गर्नुभएको हो ।

यस अवसरमा बोल्दै निर्माता राईले यो चलचित्र पैसा कमाउने मुख्य उद्देश्य नभई किराती राई जातिको लोपोन्मुख मुन्दुमी संस्कृति, पुर्खा पूजा, विवाह, चाडपर्व, र मृत्यु संस्कारजस्ता परम्पराहरूको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका लागि बनाइएको बताउनुभयो।

:संसारैभरि देखाए पनि आफ्नो नेपाली गाँउ गाँउ, बस्ती बस्तीमा, हरेक नेपालीको घर घरमा यो फिल्म देखाउने मन रहेको”, आफ्नो भावना निमार्ता राईले व्यक्त गर्नुभयो।

चलचित्रका लेखक तथा निर्देशक किरण राईले नाकछोङले राई समुदायको संस्कृति र सामाजिक मुद्दाहरूमा ध्यान केन्द्रित गरे तापनि यो सम्पूर्ण नेपाल र नेपालीको कथा भएको बताउनुभयो।

उहाँले थप्नुभयो, “नाकछोङ (बिजुवा) केवल एक पुजारी मात्र नभई किरात राई समुदायको आध्यात्मिक र सांस्कृतिक जीवनको केन्द्रीय स्तम्भ हुन्।”

लुङ्गा र जिउपैचौँ पनि निर्देशन गरिसक्नुभएको निर्देशक राईको यो आफ्नै कथा रहेको, बताउनुभयो ।

निर्माता ज्योतीराज राई ले ‘नाकछोङ’ लाई आध्यात्मिक संरक्षक, मुन्दुमीको जगेर्ना गर्ने, निको पार्नेवाला र पथप्रदर्शकको रूपमा प्रस्तुत गरिएको र यसले किराती राई जातिको सांस्कृतिक पहिचान, सामाजिक एकता र पर्यावरणीय चेतनाको प्रतीक को रूपमा काम गर्ने उल्लेख गर्नुभयो। उहाँका अनुसार यो चलचित्रले द्रुत विश्वव्यापीकरण र सामाजिक परिवर्तनका कारण परम्परागत अभ्यासहरूलाई जोगाउन बिजुवाहरूले भोग्नुपरेको चुनौतीलाई चित्रण गर्छ।

ट्रेलर विमोचन समारोहमा विभिन्न पेशा र क्षेत्रका धेरै विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

उहाँहरूले किरात राई जातिको मौलिक संस्कृतिलाई पर्दामा उतारेर राष्ट्रिय सम्पत्तिको रूपमा स्थापित गर्न चलचित्र ‘नाकछोङ’ ले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण निर्माण टिमलाई शुभकामना दिनुभयो।

उहाँहरूले नेपाली चलचित्रमा जातीय र सांस्कृतिक विविधताको प्रतिनिधित्व हुनुपर्ने कुरामा जोड दिँदै ‘नाकछोङ’ ले यो आवश्यकता पूरा गरेकोमा प्रशंसा गरे। उनीहरूले यस कार्यले नेपाली कला र साहित्यलाई थप धनी बनाउने बताए।

चलचित्रले नयाँ पुस्तालाई आफ्नो जरा, भाषा र परम्परासँग जोड्न मद्दत गर्ने र यसले सांस्कृतिक चेतना फैलाउने विश्वास, चलचित्रका कलाकार पूर्ण लिम्बूले व्यक्त गर्नुभयो ।

चलचित्र ‘नकछोङ’ मा मुख्य भूमिकामा अभिनेता भुवन सिंह राई रहनुभएको छ। उहाँका साथै अन्य प्रतिभाशाली कलाकारहरू यासेली योङ्हाङ, सुष्मा सुब्बा गुरुङ, सारा राई, तायाहाङ राई, क्याप्टेन पूर्ण लिम्बू, हेम दिलुङ्गछा राई, दिनेश कोइराला, अनुषा राई, सागर केरुङ, उदय सुब्बा कुरुम्बाङ, बिनोद पोमु र तुलसा लिम्बू लगायतको महत्त्वपूर्ण अभिनय रहेको छ।

यो विशाल र सशक्त कलाकारहरूको टोलीले किरात राई समुदायको संस्कृति र ‘नकछोङ’ अर्थात् ‘बिजूवा’ को भूमिकामा आधारित यस चलचित्रलाई जीवन्त तुल्याउने प्रयास गरेको निर्माता राईको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *