मन जित्यो तर, घरेलु मैदानमै चुक्यो आयोजक गछिया: ईटहरीको भिडन्त गाईघाटसँग
सुन्दरहरैँचा, मोरङ: सुन्दरहरैँचाको गछिया खेलमैदानमा जारी ‘एनि प्रथम गछिया गोल्डकप–२०८२’ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आयोजक गछिया युवा समाज लाई पराजित गर्दै राष्ट्रिय जागृती फुटबल क्लब (इटहरी) फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा राष्ट्रिय जागृती एफसीले १–० को साँघुरो अन्तरले जित हासिल गर्यो।
घरेलु दर्शकको बाक्लो समर्थन पाएको आयोजक गछिया युवा समाजले खेलको सुरुवातबाटै उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय जागृती क्लबलाई दबाब मा राखेको थियो। आफ्नो समूह चरणको खेलमा लिनेण्ड फुटबल क्लब भारतलाई ७–० को विशाल अन्तरले पराजित गरेको आत्मविश्वासका साथ मैदानमा उत्रेको गछियाले इटहरीमाथि लगातार प्रहार गर्यो।
तर, खेलाडीहरूबीच तालमेल मिलाउन नसक्दा गछियाले कुनै पनि गोल गर्न सकेन। सुरुवाती चरणमा खासै खुलेर खेल्न नसकेको राष्ट्रिय जागृती क्लब र आयोजकबीच पहिलो हाफमा निकै कडा घम्साघम्सी चलेको थियो।
खेलको ३६ औं मिनेटमा भने खेलले अप्रत्याशित मोड लियो। दर्शकको निरन्तर दबाबबीच राष्ट्रिय जागृती फुटबल क्लब इटहरीले गछिया-खेल मैदनामा उतारेका विदेशी खेलाडी एलेक्स विलनले अचानक उत्कृष्ट गोल गर्दै खेलमा अग्रता लियो। यही पहिलो हाफको एक मात्र गोल नै खेलको निर्णायक साबित भयो।
निर्णायक गोलकर्ता एलेक्स विलन उत्कृष्ट प्रदर्शनका आधारमा ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रशिक्षकको भनाइ: दुर्भाग्यले साथ दिएन, भावनात्मक निर्णय गलत !
खेलको समाप्तिपछि प्रतिक्रिया दिँदै गछिया युवा समाजका प्रशिक्षक शम्भु गुरुङ ले आजको दिन आफ्नो टोलीका लागि दुर्भाग्यपूर्ण रहेको स्वीकार गरे।
“हामीले आज राम्रो र उत्कृष्ट खेल प्रदर्शन गर्यौं, राष्ट्रिय जागृती फुटबल क्लब (इटहरी) माथि दबाब पनि सिर्जना गर्यौं ।”, प्रशिक्षक गुरुङको कथन थियो, “तर भाग्यले हामीलाई साथ दिएन। यो नै आजको हारको मुख्य कारण हो।”
प्रशिक्षक गुरुङले यस घरेलु गोल्डकपमा नयाँ र युवा खेलाडीहरूलाई मौका दिएर प्रोत्साहन गर्ने निर्णय नै टोलीका लागि अर्को गलत साबित भएको पनि दाबी गर्नुभयो।
“यो जोखिमपूर्ण हुने थाहा पाउँदा पाउँदै पनि हामीले हाम्रा भाइहरूलाई प्रोत्साहन गर्न यो अवसर दियौं, जुन दुर्भाग्यवश हाम्रो लागि अर्को गलत भावनात्मक निर्णय साबित भयो।”, उहाँले थप्नुभयो, “यदि हाम्रो पहिलो सेटका खेलाडीहरू मैदानमा उत्रिएको भए सायद जित निश्चित थियो। सुरुदेखि नै हामीले विपक्षीलाई पेलेको थियौं, गोल पनि गरेका थियौं, तर दुर्भाग्य ! भयो आजको दिन।”
गोल खाएपछि आयोजक गछिया युवा समाजको पक्षमा दर्शकको समर्थन अझ बढ्यो। गछियाका खेलाडीहरूले गोल फर्काउन पटक पटक सुन्दर प्रयास गरे पनि उनीहरूको दुर्भाग्यले साथ दिएन।
राष्ट्रिय स्तरका खेलाडी आरोन थापा मगर ले गोलका लागि गरेका अत्यन्त सुन्दर दुई प्रहार पोस्ट माथिबाट बाहिरिएका थिए। त्यसैगरी, केही हेड गोलका प्रयासहरू पनि पोस्टभन्दा माथि गएर गोलमा परिणत हुन सकेनन्।
राष्ट्रिय जागृती फुटबल क्लबले पहिलो हाफको गोललाई अन्तसम्म कायम राख्दै १–० को जित दर्ता गर्यो र प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गर्यो।
गछिया युवा समाजको ‘होम ग्राउण्ड’मै जित हासिल गरेपछि राष्ट्रिय जागृती फुटबल क्लब अब फाइनलमा गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुरसँग उपाधिका लागि भिड्नेछ।
