सांसद अशोक चौधरीको सरकारमाथि हमला, ‘यो सरकार अपराधीहरूको नियन्त्रणमा छ’
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक कुमार चौधरीले वर्तमान सरकारले जनताको हितमा भन्दा पनि अपराधीहरूको पक्षमा काम गरिरहेको आरोप लगाएका छन्। सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने बहानामा सरकारले फेसबुक र युट्युबजस्ता प्लेटफर्महरू बन्द गर्ने धम्की दिएको भन्दै उनले यसको कडा विरोध गरेका छन्।
सांसद चौधरीले नेपालमा ९०% भन्दा बढी जनसंख्याले इन्टरनेट प्रयोग गरिरहेको र लाखौंको रोजगारी डिजिटल प्लेटफर्ममा निर्भर रहेको बताएका छन्। उनले भने, “सरकार संयमता र कौशल देखाउनुको सट्टा ‘एक हप्ता, दुई हप्ता’ शैलीको धम्कीमा उत्रिएको छ। यो जनहित विपरीत छ।”
विपद् र रोग नियन्त्रणमा सरकारको लापरबाही
उनले सरकारले विपद् व्यवस्थापन र रोग नियन्त्रणमा लापरबाही गरेको भन्दै त्यसको पनि आलोचना गरेका छन्। यस वर्ष ३,४४७ विपद् घटनामा २२१ नागरिकले ज्यान गुमाएको र वीरगञ्जमा हैजा फैलिएको डेढ हप्ता बित्दा पनि स्रोत पत्ता लगाउन नसकेको उनले बताए। “सरकारले हैजा नियन्त्रण गरिरहेको छ कि मान्छे नियन्त्रण?” उनले प्रश्न गरे।
सांसद चौधरीले सहकारी पीडितको ८८ अर्ब कहिले फिर्ता हुन्छ? किसानलाई मल र भुक्तानी कहिले दिने? मिटर ब्याज पीडितले न्याय कहिले पाउने? भिजिट भिसा मानव तस्करीको फाइल कहाँ लुकाइएको छ? भनि सरकारसँग प्रश्नहरू सोधेका छन् ।
चौंधरीले जनता मौन छैनन्, आन्दोलन सुरु भइसकेको बताएका छन् ।
उनले ३४ वर्षदेखि देशका नदी(नाला र कलकारखाना बेच्ने, युवाहरूलाई विदेश पठाउने र सहकारीमा अरबौंको भ्रष्टाचार गर्नेहरूले आज आएर रास्वपालाई नैतिकता सिकाउन खोजेको आरोप लगाए।
उनले थपे, “मानव तस्करी र भ्रष्टाचारविरुद्ध हाम्रो आन्दोलन निरन्तर जारी रहनेछ। २०८४ सम्म सहन्छौँ, त्यसपछि हेर्नेछौं।”
