राष्ट्रिय जनसहयोग कलेजको १२औँ सभा सम्पन्न
गोर्खा खबर | तरहरा (इटहरी)
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा खगेन्द्र गिरिको अध्यक्षता र कोशी प्रदेशका सामाजिक विकास मन्त्री गीता तिम्सिनाको प्रमुख आतिथ्यमा भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय प.नि.का. पूर्वाञ्चल प्रमुख प्रा. डा. गोविन्द गुरागाँई, पव्लिक क्याम्पस संघ कोशी प्रदेशका अध्यक्ष अर्जुनराज अधिकारी, इटहरी उपमहानगरपालिकाका उपमेयर संगिता चौधरी, वडा नं. २० का अध्यक्ष मणिराम श्रेष्ठ लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, चन्दादाता र शिक्षाविद्हरूको बाक्लो उपस्थिति रहेको थियो।
सभामा क्याम्पस प्रमुख दोर्णबहादुर न्यौपानेले कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सबैको सहकार्यले नै कलेजले उत्कृष्ट सफलता हासिल गर्न सकेको बताउनुभयो।
सो अवसरमा सभाले विगतको प्रगति र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आव २०८३/८४ का लागि नयाँ योजना तथा बजेट स्वीकृति गरेको छ। कार्यक्रम संयोजक कमला खड्का रहनुभएको उक्त सभामा उत्कृष्ट विद्यार्थी र शिक्षकहरूलाई पुरस्कृत एवं सम्मानित गरिएको थियो।
विशेषगरी हालै प्रकाशित BBS चौथो वर्षको नतिजामा १२ जना विद्यार्थीले विशिष्ट श्रेणी ल्याएको र छात्रा प्रतिभा लुइटेलले नेपालकै सम्भावित सर्वोत्कृष्ट ८७.८०% अङ्क प्राप्त गरेकोमा सभाले गर्व र खुसी व्यक्त गरेको छ।
प्रमुख अतिथि तथा वक्ताहरूले कलेजको नतिजाको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् भने कलेज परिवारले उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
