१५ औँ अधिवेशनपछि असन्तुष्ट मनिस बस्नेत रास्वपा प्रवेश गर्ने राजनीतिक वृत्तमा चर्चा तर, औपचारिक पुष्टि भएन
गोर्खा खबर ब्युरो । तरहरा
इटहरी (तरहरा) । नेपाली काँग्रेस इटहरी वडा नं. २० का पूर्व उपसभापति एवं १५ औँ वडा अधिवेशनमा सभापति पदका आकांक्षी मानबहादुर बस्नेत उर्फ मनिसले पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्न सक्ने सम्भावनाबारे स्थानीय राजनीतिक वृत्तमा चर्चा चुलिएको छ ।

वडा अधिवेशनमा ‘सहमति, सहकार्य र एकता’ को नाममा आफूलाई नेतृत्वबाट पाखा लगाइएको तीव्र असन्तुष्टि जनाउदै सामाजिक संजाल फेशबुकमा मनिषले घण्टी समातेको तस्वीर सार्वजनिक गरेपछि चंर्चा चुलिएको हो ।

“राजनीति यति निर्दयी र क्रुर हुँदोरहेछ भन्ने कुरा १८ वर्षपछि बल्ल आज थाहा भयो।”, १८ वर्षसम्म पार्टीमा निरन्तर समर्पित रहेका बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो निराशा व्यक्त गर्दै यसअघि लेख्दै वडाको नयाँ कार्यसमितिको पदबहाली तथा पहिलो बैठकमा समेत सहभागी नभई काठमाडौँ प्रस्थान गरेका थिए ।
त्यहीँ उनले घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह) बजाइरहेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेपछि आशंका गरिएको थियो । तस्बिरसँगै उनले लेखेका छन्— “कहिलेकाहीँ युद्ध हार्दा पनि युद्ध जित्ने तरिका सिकिँदो रहेछ।”

यस अभिव्यक्ति र सांकेतिक तस्बिरपछि उनी नेपाली काँग्रेस छाडेर घण्टी (रास्वपा) तिर ढल्किने अडकलबाजी तीव्र बनेको छ । यधपी, तरहराका स्थानीयबासीबीच बस्नेत एक इमानदार, सरल, सालिन, भद्र र स्वच्छ छविका व्यवसायी एवं समाजसेवीका रूपमा परिचित छन् र राजनीतिक रुपमा पनि उनलाई यहीँ रुपमा चिनिन्छ ।
उनले नेपाली काँग्रेस पार्टीलाई विगतदेखि नै आर्थिक, नैतिक र व्यक्तिगत रूपमा अतुलनीय योगदान पुर्याउँदै आईरहेकाले कांग्रेस छाड्ने कुरामा, स्थानीय कांग्रेसीहरु विश्वास गर्दैनन् । तथापि, यसअघिदेखि नै रास्वपा समेतले मनिषलाई आफ्नो पार्टीमा तान्ने प्रयास गरिरहेको, बुझिएको छ ।
मनिष यसअघिको स्थानीय निर्वाचनमा जनप्रतिनिधिका लागि आंकाक्षी पनि थिए । तथापि, कांग्रेसले टिकट नदिएपछि आगामी चुनावका लागि उनको तयारी भईरहेको, बुझिएको थियो । महाधिवेशनले नयाँ मोड ल्याईदिएपछि कांग्रेस छाडेर रास्वपा जाने हो ? भनेर गोर्खा खबरले उनीसँग अनौंपचारिक कुराकानी गर्दा बस्नेतले मुस्कुराउँदै कुनै पनि प्रतिक्रिया दिन स्वीकार गरेनन् ।
बस्नेतको यस कदमले इटहरी–२० का काँग्रेस वृत्तमा तरङ्ग पैदा गरेको छ भने उनको भावी राजनीतिक कदमलाई चासोका साथ हेरिएको छ।
