राष्ट्रिय जनसहयोग कलेज BBS चौथो वर्षको नतिजामा सर्वोत्कृष्ट: १२ जना विद्यार्थी डिस्टिंक्शनसहित उत्तीर्ण
इटहरी (तरहरा)। त्रिभुवन विश्वविद्यालय (TU) व्यवस्थापन संकायद्वारा भर्खरै प्रकाशित BBS चौथो वर्षको नतिजामा इटहरी–२०, तरहरा स्थित राष्ट्रिय जनसहयोग कलेजले ऐतिहासिक एवं सर्वोत्कृष्ट सफलता हासिल गरेको छ।
कलेज प्रशासनका अनुसार विश्वविद्यालयको अन्तिम परीक्षामा यस कलेजबाट सहभागी १२ जना मेधावी विद्यार्थीहरूले डिस्टिंक्शन (Distinction) सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्। कलेजले अधिकतम ८७.८०% सम्म अंक प्राप्त गरी नेपालभर BBS अध्यापन गराउने कलेजहरूमध्ये सम्भवतः सर्वोत्कृष्ट (पहिलो) स्थान हासिल गरेको दाबी गरेको छ।
कलेजको यस ऐतिहासिक सफलताबारे खुसी व्यक्त गर्दै क्याम्पस प्रमुख द्रोणबहादुर न्यौपाने भन्नुहुन्छ, “स्थापना कालदेखि नै कलेजले निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको छ। विगतका वर्षहरूमा राष्ट्रिय स्तरमै दोस्रो र तेस्रो स्थान हासिल गर्नुका साथै कोशी प्रदेशमा पटक-पटक प्रथम भइसकेको इतिहास छ। यसपटकको नतिजामा ८७.८०% अंक र १२ जना डिस्टिंक्शनसहित हाम्रो कलेज सम्भवतः देशकै पहिलो (नेपाल प्रथम) हुन सफल भएको छ।”
मफसलमा रहेर पनि गुणस्तरीय, व्यावहारिक र प्रतिस्पर्धी शिक्षा प्रदान गर्दै आएको राष्ट्रिय जनसहयोग कलेजले यो नतिजासँगै पूर्वी नेपालकै एक भरोसायोग्य र उत्कृष्ट शैक्षिक धरोहरको रूपमा आफ्नो पहिचान थप सुदृढ बनाएको छ।
कलेज परिवारले यो अभूतपूर्व सफलता हासिल गर्न सफल सम्पूर्ण मेधावी विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उहाँहरूको उज्ज्वल शैक्षिक एवं व्यावसायिक भविष्यको कामना गरेको छ।
