बाढीपहिरोमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तरहरामा माणे मलम पूजा हुने

0
GUMBA

तरहरा, सुनसरी — देशका विभिन्न भागमा आएको भीषण प्राकृतिक विपत्तिमा परी अकालमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्मशान्तिका लागि तरहरामा विशेष धार्मिक पूजापाठ आयोजना गरिने भएको छ। श्री गुरुङ बौद्ध तमु सेवा समिति, १, १९ र २०, तरहरा, सुनसरीको आयोजनामा आगामी भदौ २२ गते सोमबारका दिन माणे मलम पूजा कार्यक्रम हुन लागेको हो।

रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका क्षेत्रमा हालै गएको बाढीपहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूले सुखावती भुवनमा बास प्राप्त गरून् भन्ने पवित्र उद्देश्यका साथ यो धार्मिक अनुष्ठान आयोजना गरिएको हो। गुम्बाका प्रमुख लामा श्री शिव गुरुङज्यूको संयोजकत्वमा तरहरास्थित श्री गुरुङ बौद्ध गुम्बाको पूजा हलमा उक्त पूजा सम्पन्न हुनेछ।

उक्त दिन बिहान ११:०० बजेदेखि सुरु हुने धार्मिक कार्यक्रममा उपस्थित भई मृतात्माहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिदिन आयोजक समितिले सम्पूर्ण तरहरावासी, श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूमा हार्दिक निमन्त्रणा र अपिल गरेको छ। साथै यस दुखद घडीमा सबै एकजुट भई दिवङ्गत आत्माको चिरशान्तिका लागि प्रार्थना गर्न र यो सूचना आफ्नो आफन्त तथा साथीभाइसम्म पुर्‍याइदिन समेत अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *