बाढीपीडितका लागि पूर्वाञ्चल स्कूलद्वारा १ लाख १५ हजार सहयोग
इटहरी (सुनसरी) । हालैको प्राकृतिक विपत्ति र बाढीबाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनरुत्थानका लागि इटहरी–२०, तरहरास्थित पूर्वाञ्चल सेकेण्डरी बोर्डिङ स्कूल एण्ड कलेज परिवारले आर्थिक सहयोग प्रदान गरेको छ। “बाढीपीडितहरूको पीडामा पूर्वाञ्चल सेकेण्डरी स्कूल परिवारको राहत सहयोग” अभियान अन्तर्गत सङ्कलन गरिएको कुल रु. १,१५,०००/- (अक्षरेपी एक लाख पन्ध्र हजार रुपैयाँ) राष्ट्रिय राहत कोषमा समर्पित गरिएको विद्यालय प्रशासनले जनाएको छ।
विपद्को यस कठिन घडीमा पीडित परिवारहरूलाई तत्काल राहत र न्यानो घर एवं खुसी परिवार पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयले यो सामाजिक उत्तरदायित्व वहन गरेको हो।
“हाम्रो सानो सहयोग, ठूलो राहत — एकताबद्ध सेवा र सहकार्यको भावना” भन्ने नाराका साथ सञ्चालन गरिएको उक्त राहत कोष सङ्कलन अभियानमा विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरूले स्वतःस्फूर्त रूपमा योगदान पुर्याएका थिए।
विद्यालय प्रशासनले यस परोपकारी कार्यमा ऐक्यबद्धता जनाउँदै खुला हृदयले सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी एवं सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
शिक्षा क्षेत्रमा गुणस्तरीय पठनपाठनसँगै सामाजिक कार्यमा पनि सधैँ सक्रिय रहँदै आएको पूर्वाञ्चल सेकेण्डरी बोर्डिङ स्कूल एण्ड कलेजले यसअघि पनि विभिन्न विपद्का समयमा मानवीय सहायता प्रदान गर्दै आएको छ।
सङ्कलित यो सहयोग रकमले बाढीप्रभावित क्षेत्रका नागरिकहरूको पुनःस्थापना र राहत व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
