धनपुरी युनिटी क्लबद्वारा रसुवाका बाढीपहिरो पीडितलाई रु. १५ हजार सहयोग
क्लबका अध्यक्ष खगेन्द्र खड्काले विपद् जुनसुकै ठाउँमा घटे पनि त्यसबाट प्रभावित नागरिकको पीडा सबैको साझा सरोकारको विषय हुने बताए।
इटहरी । खेलकुद तथा सामाजिक गतिविधिमार्फत समुदायलाई एकताबद्ध गर्दै आएको धनपुरी युनिटी क्लबले रसुवा जिल्लामा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि रु. १५,००० सहयोग प्रदान गरेको छ।
स्थानीय युवाहरूलाई खेलकुदमा सक्रिय बनाउँदै विभिन्न रचनात्मक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको क्लबले विपद्को कठिन समयमा पीडित परिवारको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको भन्दै सहयोग गरेको जनाएको छ।
क्लबका अध्यक्ष खगेन्द्र खड्काले विपद् जुनसुकै ठाउँमा घटे पनि त्यसबाट प्रभावित नागरिकको पीडा सबैको साझा सरोकारको विषय हुने बताए। संकटका बेला आफ्नो क्षमताअनुसार सहयोग गर्नु सामाजिक संस्थाको जिम्मेवारी भएको उल्लेख गर्दै उनले रसुवाका बाढीपहिरो पीडित परिवारलाई राहत तथा उद्धारमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले क्लबको तर्फबाट सहयोग गरिएको बताए।
अध्यक्ष खड्काले खेलकुदसँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई पनि क्लबले प्राथमिकतामा राख्ने बताए। साथै, इटहरीमा खेलकुदको विकास र नयाँ खेलाडी उत्पादनका लागि आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिइने प्रतिबद्धता उनले व्यक्त गरे।
धनपुरी युनिटी क्लबले पछिल्लो समय फुटसल प्रतियोगितालगायतका खेलकुद तथा रचनात्मक कार्यक्रम आयोजना गर्दै स्थानीय युवाहरूलाई सक्रिय बनाउँदै आएको छ।
क्लबका सचिव ओमकुमार (ओम) खड्काले खेलकुद केवल प्रतिस्पर्धाका लागि मात्र नभई समुदायलाई जोड्ने र स्थानीय प्रतिभालाई अगाडि ल्याउने माध्यमसमेत भएको बताए।
सचिव खड्काले खेलकुद तथा सामुदायिक गतिविधिबाट प्राप्त एकता र सहकार्यको भावनालाई सामाजिक सेवामा समेत विस्तार गर्नुपर्ने बताए। विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु मानवताको कर्तव्य भएको उल्लेख गर्दै उनले क्लबले आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने बताए।
क्लबले “सानो सहयोग, ठूलो आशा” भन्ने भावनाका साथ रसुवाका बाढीपहिरो प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग उपलब्ध गराएको हो।


