बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङप्रति तरुण दल सुनसरीको दुःख व्यक्त
इटहरी । नेपाल तरुण दल सुनसरी जिल्ला कार्यसमितिले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधन र भौतिक संरचनाको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
तरुण दल सुनसरीका जिल्ला अध्यक्ष सिजन गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विज्ञप्तिमा बाढी तथा पहिरोका कारण बेपत्ता भएका नागरिकको तत्काल खोजी, उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहनसमेत आग्रह गरिएको छ।
तरुण दल सुनसरीले विपद्को यस कठिन घडीमा पीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, गैरसरकारी संस्था, स्वयंसेवक तथा आम नागरिक एकताबद्ध भएर सहयोग गर्नुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा विपद्बाट प्रभावित नागरिकको जीवनरक्षा र मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै सबै पक्षलाई आवश्यक सहयोग तथा सहकार्यका लागि आह्वान गरिएको छ। प्राकृतिक विपत्तिको सामना गर्न सामूहिक एकता र मानवीय सहयोग नै महत्वपूर्ण हुने तरुण दल सुनसरीको भनाइ छ।
