लक्ष्मीपुर–कालाबन्जार डुबान समस्या समाधानका लागि पहल
बराहक्षेत्र, सुनसरी | बराहक्षेत्र नगरपालिका–५ को लक्ष्मीपुर–कालाबन्जार क्षेत्रमा वर्षौंदेखि हुनुपर्ने डुबान तथा पानी निकास समस्याको स्थायी समाधानका लागि नगरपालिकाले सरोकारवाला र पीडित स्थानीयवासीसँग छलफल सुरु गरेको छ। नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा भएको उक्त बैठकमा प्राविधिक अध्ययनका आधारमा सबै पक्षलाई न्याय हुने गरी दीर्घकालीन योजना बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
छलफलका क्रममा नगर प्रमुख कार्कीले आर्थिक वर्ष २०८० सालमै समस्या समाधानका लागि २० लाख रुपैयाँ विनियोजन गरिए पनि उपभोक्ता समिति र सम्बन्धित पक्षबाट समन्वय हुन नसक्दा योजना अलपत्र परेको स्मरण गराउनुभयो। उहाँले अब छिट्टै प्राविधिक टोलीसहित पुनः स्थलगत निरीक्षण गर्ने र स्थानीय टोल विकास समितिसहित सबै सरोकारवालासँग बृहत् छलफल गरी स्थायी ड्रेन निर्माण प्रक्रिया अघि बढाउने बताउनुभयो।
पीडितका तर्फबाट नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय सदस्य प्रदीप बासमैत चौधरीले अव्यवस्थित प्लटिङ, वैज्ञानिक योजना विना गरिएका सडक निर्माण र प्राकृतिक खोल्सा तथा कुलोको अतिक्रमणका कारण समस्या वर्षेनी जटिल बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले चार वर्षदेखि माग गर्दा पनि ठोस काम नभएको भन्दै देखावटी रूपमा झार सफा गर्ने वा वर्षायाममा एकपक्षीय रूपमा पानी निकास खोल्ने कार्यले एउटा बस्तीको समस्या अर्को बस्तीमा सार्ने र थप क्षति पुऱ्याउने जोखिम औंल्याउनुभयो।
प्रभावित समुदायले सुरक्षित वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता माग गर्दै १० बुँदे माग अघि सारेका छन्। उनीहरूले सम्पूर्ण पानी निकास प्रणालीको उच्चस्तरीय प्राविधिक अध्ययन, प्राकृतिक मार्गको संरक्षण, अतिक्रमणको छानबिन र सार्वजनिक सुनुवाइपछि मात्र अन्तिम निर्णय गर्न माग गरेका छन्। आफूहरू विकास विरोधी नभएको प्रष्ट पार्दै स्थानीयले समयमै माग सम्बोधन नभए जिल्ला प्रशासन, गृह मन्त्रालय, मानव अधिकार आयोग र अदालतसम्म कानुनी प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएका छन्।
