धरान हङकङ मञ्चको १२ औँ अधिवेशन सम्पन्न

0
733606437_1845936383034536_8768034873963902652_n (1)

हङकङ । गोर्खा खबर

हङकङमा रहेका धरानेहरूको साझा संस्था ‘धरान हङकङ मञ्च’ को १२ औँ अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। हङकङको जोर्डन स्थित या चु को निजी भवनमा जुन २८ तारिख आइतबारका दिन आयोजित विशेष समारोहका बीच अधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो।

अधिवेशनमा मञ्चका संस्थापक इन्द्र वनेमको संयोजकत्वमा पूर्व अध्यक्ष विष्णु पाख्रिन र नानीचन्द्र लिम्बु सम्मिलित निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।

निर्वाचन समितिले घोषणा गरे अनुसार आगामी कार्यकालका लागि संजोक राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा रबिन तामाङ, सचिवमा विकास राई, सह-सचिवमा मनोज श्रेष्ठ र कोषाध्यक्षमा दिल कुमार राई चयन भएका छन्। यस्तै, मञ्चको कार्यसमिति सदस्यहरूमा रोशन लिम्बू, किशोर लिम्बू, विजय राई, जोना गुरुङ (महिला सदस्य), राज कुमार लिम्बू, आविष्कार लिम्बू, कैलाश लिम्बू र प्रकाश लिम्बू रहेका छन्।

पद तथा गोपनीयताको शपथ ग्रहण गरेपश्चात् नवनिर्वाचित अध्यक्ष संजोक राईले हङकङमा रहेका धरानेहरूलाई एकताबद्ध गर्दै संस्थालाई थप उचाइमा पुर्‍याउने र आफ्नो जन्मभूमि धरानको समग्र विकासका लागि सधैं समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङले धरानको ऐतिहासिक महत्त्व र हङकङमा मञ्च (फोरम) ले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। त्यस्तै, महासंघकी पूर्व अध्यक्ष रिता गुरुङले धरान हङकङ फोरमलाई महासंघको “मेरुदण्ड” को संज्ञा दिँदै यसको महत्त्वमाथि प्रकाश पार्नुभयो। महासंघका अर्का पूर्व अध्यक्ष प्रदीप थापाले धरानको पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा फोरमसँग सहकार्य गर्न आफू सदैव तत्पर रहेको बताउनुभयो।

भव्य रूपमा सञ्चालित उक्त अधिवेशनमा धरान युथ एशोसिएसनका अध्यक्ष अमोद तुलाधर, किरात याक्थुम चुम्लुङ हङकङका अध्यक्ष शमसेर लिम्बू, धरान-१७ समाज हङकङका अध्यक्ष मधुकुमार राई र जीवन यात्रा समूहका प्रतिनिधि विक्रम आलेलगायत विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

सन् १९९९ मा स्थापना भएको धरान हङकङ मञ्चले हङकङमा रहेका धरानेहरूलाई एकजुट बनाउँदै धरानको पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक पूर्वाधार विकासमा लामो समयदेखि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। धरानको पहिचानको रूपमा रहेको प्रसिद्ध घण्टाघर निर्माणमा समेत मञ्चले मुख्य अगुवाइ गरेको थियो। अधिवेशनका सहभागी तथा अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *