फुजिसन सगरमाथाले यही प्रविधियुक्त र जीवनोपयोगी शिक्षा प्रदान गरेर इटहरी क्षेत्र र यहाँका स्थानीय बासिन्दाहरूको गरिमा र प्रतिष्ठालाई अझ उच्च बनाएको छ।
एन.जी. लामा । इटहरी भवानीपुर
परम्परागत र सैद्धान्तिक शिक्षा प्रणालीलाई तोड्दै पूर्वी नेपालकै प्रतिष्ठित शैक्षिक संस्था फुजिसन सगरमाथा बोर्डिङ स्कूलले शिक्षा क्षेत्रमा ठूलो रूपान्तरणको सुरुवात गरेको छ।
“शिक्षा केवल पढ्नका लागि मात्र होइन, यो जीवन र उत्कृष्ट जीवनशैलीका लागि हो” भन्ने मान्यतालाई स्थापित गर्दै विद्यालयले नयाँ सोच र शैलीका साथ शैक्षिक कार्यक्रमहरू अगाडि बढाएको छ।
हालै सम्पन्न तरहरा उत्सव २०८२ मा युथ आइकनु उपाधिबाट सम्मानित हुनुभएका युवा तथा ऊर्जावान् व्यक्तित्व निर्देशक एवम् प्राचार्य राकेश श्रेष्ठले आफ्नो सबल नेतृत्व र मार्गनिर्देशनमा विद्यालयले किताबी ज्ञान मात्र होइन, व्यवहारिक सीप भन्ने मूल मन्त्रलाई कार्यान्वयनमा लगिरहनुभएको छ ।
विद्यालयले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने र सानै उमेरदेखि उद्यमशीलता सिकाउने उद्देश्यका साथ ‘सिक्दै, कमाउँदै र रमाउँदै’ अभियान सुरु गरेको छ। यसै अन्तर्गत विद्यालय परिसरमै विद्यार्थीहरू आफैंले च्याउ खेती सुरु गरिसकेका छन्।
विद्यार्थीहरूले केवल च्याउ उमार्न मात्र सिकेका छैनन्, उनीहरूले उत्पादन गरेको च्याउ अहिले स्थानीय बजारमा बिक्री हुन थालेको छ। बजारमा च्याउ बेचेर विद्यालय र विद्यार्थीहरूले व्यावसायिक रूपमा नाफा आर्जन गर्न समेत सफल भइसकेका छन्। यसरी आयआर्जन गर्दा विद्यार्थीहरूको आत्मविश्वास मात्र बढेको छैन, उनीहरूको जीवनशैलीमा समेत सकारात्मक प्रभाव पर्न थालेको छ।
कार्यक्रममा बोल्दै श्रेष्ठले आधुनिक शिक्षामा STEAM (Science, Technology, Engineering, Arts, and Mathematics) को महत्वमाथि जोड दिनुभयो।
“आजको युग एआई (Artificial Intelligence) र डिजिटल प्रविधिको युग हो, त्यसैले अबको शिक्षा ‘पढ्ने र घोक्ने’ मात्र नभई ‘सिक्ने र सिकाउने’ प्रयोगात्मक प्रणालीमा आधारित हुनुपर्ने धारणा विद्यालय नेतृत्वको छ।”, निर्देशक श्रेष्ठले भन्नुभयो, “फुजिसन सगरमाथाले यही प्रविधियुक्त र जीवनोपयोगी शिक्षा प्रदान गरेर इटहरी क्षेत्र र यहाँका स्थानीय बासिन्दाहरूको गरिमा र प्रतिष्ठालाई अझ उच्च बनाएको छ।”
कार्यक्रमका सभापति तथा विद्यालयका अध्यक्ष लाल बहादुर श्रेष्ठले देशको वर्तमान आर्थिक र कृषि अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो।
नेपाल जस्तो कृषिप्रधान देशमा समेत वार्षिक अर्बौं रुपैयाँको धान र चामल किनेर खानुपर्ने बाध्यात्मक अवस्था रहेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो।
अर्कातर्फ, जापान, दक्षिण कोरिया र अन्य विकसित मुलुकहरूले प्रविधिको सही सदुपयोग गर्दै कृषि उत्पादन विश्वभर निर्यात गरिरहेका छन्।
नेपालमा प्रचुर सम्भावना, उर्वर भूमि र अवसरहरू हुँदाहुँदै पनि राज्य र नीतिगत तहबाट कृषि र शिक्षालाई सही ढंगले जोड्न नसक्दा सोचेजस्तो सकारात्मक प्रभाव पर्न नसकेको उहाँको भनाइ थियो।
फुजिसन सगरमाथाले चालेको यो सानो कदमले देशको कृषि र शिक्षा क्षेत्रलाई सही दिशा दिने र युवाहरूलाई देशभित्रै सम्भावना देखाउने एउटा बलियो उदाहरण प्रस्तुत गरेको छ।
