सुनसरीको तरहरामा कोरा ‘२६ साउन ९ गते शनिबार

0
cycling

एन.जी. लामा । सुनसरी

नेपालकै सबैभन्दा ठूलो परोपकारी साइकल उत्सव ‘कोरा साइकल च्यालेन्ज को १६ औँ संस्करण अन्तर्गत सुनसरीको तरहरामा आगामी २०८३ साल साउन ९ गते शनिबार ‘कोरा २०२६ आयोजना हुने भएको छ । तरहरा साइक्लिङ क्लबले यो भव्य साइकल यात्रा सञ्चालन गर्न लागेको हो ।

“ऐतिहासिक पृष्ठभूमि र कोराको लहर विक्रम संवत् २०६८ (सन् २०११) मा काठमाडौँबाट जम्मा ३५ जना साइकलयात्रीको सहभागितामा सुरु भएको ‘काठमाडौँ कोरा अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ठूलो अभियान बनिसकेको”, क्लबका अध्यक्ष सुरज क्षेत्रीको कथन छ ।

उनका अनुसार, “बौद्ध संस्कृतिमा धार्मिक स्थल वा पवित्र पर्वतलाई घडीको सुई घुम्ने दिशामा परिक्रमा गर्ने कार्यलाई ‘कोरा भनिन्छ ।”

“यसै अवधारणालाई आत्मसात् गर्दै नेपालमा साइकल संस्कृति, स्वास्थ्य चेतना र सामाजिक सेवाका लागि हरेक वर्षको साउन महिनामा देशका विभिन्न सहरहरूमा एकै दिन यो कार्यक्रम आयोजना गरिँदै आएको छ ।”, आइकोनिक ट्रेडका संचालक समेत रहेका सामाजिक युवा क्षेत्री थप भन्छन्, “पूर्वी नेपालमा तरहरा कोरा तीव्र रूपमा फस्टाउँदै गएको साइकल उत्सव हो । केही वर्षअघि मात्रै स्थानीय साइकल प्रेमीहरूको सानो समूहबाट सुरु भएको यो यात्रा अहिले कोशी प्रदेशकै प्रमुख खेलकुद तथा पर्यटकीय आकर्षण बनेको छ ।”

“विक्रम संवत् २०८१ मा औंपचारिक दर्ता भई स्थापना भएको तरहरा साइक्लिङ क्लब, त्यसअघि तरहरा साइक्लिङ, ले यस क्षेत्रमा साइकल यात्रालाई संस्थागत रूपमा अगाडि बढाउँदै आएको”, महासचिव सुरज लामाको भनाई छ ।

लामाका अनुसार, यस वर्षको कोरा तरहराका रैथाने साइकलयात्री र समग्र खेलकुद प्रेमीहरूका लागि निकै गौरवको विषय हुनेछ ।

“हामी तरहरामा साइकल संस्कृतिलाई जनस्तरसम्म पुर्‍याउन र खेलकुदका माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्न प्रतिबद्ध छौँ ।”, लामाले भने, “यो केवल एउटा यात्रा मात्र नभएर स्वास्थ्य, पर्यावरण संरक्षण र सामाजिक सेवाका लागि चालिएको एउटा बलियो कदम हो । त्यसैले यस विशेष उत्सवमा तरहरा र आसपासका सम्पूर्ण नगरवासी तथा साइकल प्रेमीहरूलाई सहभागी भई ऐक्यबद्धता जनाउन हामी हार्दिक अपिल गर्दछौं ।”

कोरा २६’ को विशेषता र मार्ग ‘सँगै गुडौँ, सँगै उठौँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस वर्षको ‘कोरा २६’ तरहरा संस्करण निकै विशेष हुने आयोजकले दाबी गरेको छ ।

तरहरा र आसपासका क्षेत्रका धानखेत, हरियाली फाँट तथा ग्रामीण सौन्दर्यलाई समेटेर विशेष गरी ५० किलोमिटरको मार्ग तय गरिएको छ । यो मार्ग समथर र मनोरम भएकाले नयाँ यात्रीदेखि व्यावसायिक साइकलयात्री सबैका लागि उपयुक्त मानिएको छ।

दर्ता खुला कार्यक्रममा सहभागी हुनका लागि अनलाइनमार्फत आवेदन फारम खुला भइसकेको छ।

Link: https://www.facebook.com/share/1JZuqkqoJ4/

आयोजक तरहरा साइक्लिङ क्लबका अनुसार इच्छुक साइकलयात्रीहरूले समयमै आफ्नो नाम दर्ता गराई यो बृहत् सामाजिक तथा स्वास्थ्य प्रवर्द्धनको उत्सवमा सहभागी हुन सक्नेछन् ।

“यस कोरा यात्राले स्थानीय क्षेत्रको दिगो पर्यटन विकास, वातावरण संरक्षण र समुदायमा आपसी भाइचारा बढाउन ठूलो भूमिका खेल्ने विश्वास”, क्लबका संस्थापक अध्यक्ष शिव रुम्दाली राईले बताए ।

एन्.जी. लामा N.G. Lama गोर्खा खबरका डिजिटल डिपार्ट हेर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *