के नगरप्रमुख पौडेल र सांसद थापाले तरहरामा अब अतिक्रमण भत्काउने भए ? (अडियो समाचारसहित)
खोलाको प्राकृतिक बहावलाई नरोकी पानीलाई आफ्नै गतिमा बग्न दिनु र बाढीको जोखिम कम गर्नु नै मुख्य प्राथमिकता
गोर्खा खबर । धनपुरी, तरहरा
वर्षायाम नजिकिँदै गर्दा प्रत्येक वर्ष हुने बाढी र डुबानको क्षति न्यूनीकरणका लागि पूर्वतयारी स्वरूप इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेल र सुनसरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) लालविक्रम थापा सहितको टोलीले इटहरी वडा नं. २०, तरहरा क्षेत्रका विभिन्न खोलाहरूको स्थलगत निरीक्षण गरेको, धनपुरी युवा समाजका सदस्य भिम खड्का जनाएका छन् । विभिन्न राजनीतिक, सामाजिक तथा स्थानीय युवा एवम् अगुवाहरूको सहभागिता रहेको उक्त संयुक्त टोलीले खोलाको बहाव क्षेत्र र वरपर भइरहेका गतिविधिको प्रत्यक्ष अवलोकन गर्दै वस्तुस्थितिबारे जानकारी लिएको हो ।
निरीक्षणका क्रममा स्थानीय नागरिकमा पर्न सक्ने भ्रम र आशङ्कालाई चिर्दै नगरप्रमुख हेमकर्ण पौडेलले बजारमा चल्न सक्ने गलत हल्लाको पछि नलाग्न स्पष्ट पार्नुभएको छ।
मेयर र सांसद आएर बजारका घर र बसोबास भत्काउन लागे भनेर गलत हल्ला चलाइन सक्ने तर्फ सचेत गराउँदै उहाँले आफूहरू स्थापित घर वा नागरिकको बसोबास भत्काउने उद्देश्यले नआएको र उपमहानगरको त्यस्तो कुनै योजना समेत नरहेको प्रष्ट्र पार्नुभयो ।
उहाँले खोलाको प्राकृतिक बहावलाई नरोकी पानीलाई आफ्नै गतिमा बग्न दिनु र बाढीको जोखिम कम गर्नु नै मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।
नगरप्रमुख पौडेलले थप प्रष्ट पार्दै अहिले आँखाले हेरेको कुरा मात्र सबै सत्य नहुन सक्ने भएकाले प्रक्रियागत रूपमा मात्र काम अघि बढ्ने बताउनुभयो ।
उहाँका अनुसार, अब स्थानीय नागरिकहरूसँग बसेर व्यापक छलफल गरिने, आधिकारिक नक्सा हेरिने र खोलाको वास्तविक दिशा तथा क्षेत्रफल कति हो भन्ने कुराको प्राविधिक रूपमा यकिन (किटानी) भएपछि मात्र कानुनी प्रक्रिया र विधि पुर्याएर आवश्यक काम अगाडि बढाइनेछ ।
निरीक्षणका क्रममा स्थानीयले खोला क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । सोही क्रममा स्थानीय अगुवा रुद्र बस्नेतले नगरप्रमुख र सम्बन्धित निकायलाई यस संवेदनशील विषयमा सरोकारवाला पक्षहरूलाई नै एकै ठाउँमा डाकेर सबै पक्षसँग छलफल मार्फत निकास निकाल्न आग्रह गर्नुभयो ।
अर्कोतर्फ, नेपाली कांग्रेस इटहरी वडा नं. २० का सभापति अर्जुन बस्नेतले खोला क्षेत्रको अतिक्रमणका विषयमा बेलैमा ठोस कदम नचालिए र अतिक्रमणलाई यसै छाडिने हो भने बाढी र डुबानको समस्या समाधान नहुने तर्फ सचेत गराउनुभयो ।
