देशकै सर्वाधिक धनराशिको ‘दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगिता’ आज सोल्टी वेस्ट एण्ड इटहरीमा हुँदै

0
kabita (1)

इटहरी, बैशाख १९ गते । सुनसरीको तरहरामा आज देशकै सर्वाधिक धनराशिको साहित्यिक महाकुम्भ ‘दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगिता २०८३’ शुरू हुँदैछ। श्री जनसहयोग २०५० समूहद्वारा आयोजित यो भव्य प्रतियोगिताको अन्तिम चरणको कार्यक्रम आज अपराह्न ४:०० बजे सोल्टी वेस्ट एण्ड इटहरीमा आयोजना गरिने भएको छ । विश्वमै स्वादिलो सेकुवाका लागि परिचित तरहरामा ‘तहरा रन’ र ‘तहरा उत्सव’ पछिको यो अर्को सबैभन्दा ठूलो र प्रतिष्ठित कार्यक्रम हो ।

कार्यक्रमका प्रमुख अतिथिको रूपमा मङ्पु, दार्जिलिङ (भारत) बाट पाल्नुहुने प्रख्यात नेपाली कवि मन प्रसाद सुब्बा रहनुहुनेछ। उहाँको उपस्थिति र कविता वाचनले कार्यक्रममा थप गरिमा प्रदान गर्ने आयोजक समूहका अध्यक्ष सन्तोष श्रेष्ठले बताएका छन् ।

प्रतियोगिताका संयोजक मुक्तिनाथ घिमिरेका अनुसार, देशभरका करिब ६ सय प्रतियोगी युवाकविहरू मध्येबाट १० जना प्रतिभाशाली कविहरू अन्तिम राउण्डका लागि छनोट भएका छन् ।

आजको कार्यक्रममा अनिल सुवेदी (धनकुटा), ऋजन मायालु (इलाम), कल्पना मरासिनी (अर्घाखाँची), टिकाराम कार्की (मोरङ), प्रचुर अभाव (झापा), प्रज्ञा निरौला (सोलुखुम्बु), विश्वराम खत्री (भक्तपुर), विशाल कुमार शाह (मोरङ), सवि मेवाहाङ्ग (सुनसरी) र सुवास सजल (मकवानपुर) ले आफ्नो कविता वाचन गर्नेछन् ।

प्रतियोगितामा युवा कविहरूको वाचनसँगै भारतका चर्चित कवि राजा पुनियानी, नेपालकी चर्चित कवि भूषिता वशिष्ठ लगायतका प्रतिष्ठित सर्जकहरूको विशेष कविता वाचन समेत रहनेछ ।

साहित्य, कला र सिर्जनाको यो संगमलाई ‘सिट्टी अफ ईन्टरटेनमेन्ट’ तरहराको गौरवको रूपमा हेरिएको छ।

विभिन्न पेसा र व्यवसायमा आबद्ध समूहका सदस्यहरूले आफ्नै व्यक्तिगत लगानी र कोषबाट यो कार्यक्रम सञ्चालन गरिरहेका छन् । पहिलो संस्करणको ऐतिहासिक सफलतापछि दोस्रो संस्करणलाई अझ बढी व्यवस्थित र भव्य बनाइएको समूहका अध्यक्ष श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *