कुलमान घिसिङको प्रदेश राजनीतिक भ्रमण कार्यक्रम

0
kulman-ghising-1757584825 (1)

एन.जी. लामातरहरा (इटहरी), सुनसरी

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको प्रदेश नम्बर १ अन्तर्गतका विभिन्न जिल्लामा जारी राजनीतिक भ्रमण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। झापा र मोरङको कार्यक्रम पश्चात सुनसरी प्रवेश गर्नुभएका अध्यक्ष घिसिङलाई धरान, तरहरा, इटहरी, इनरुवा र झुम्का क्षेत्रमा जनस्तरबाट उत्साहजनक स्वागत गरिएको छ।

भ्रमणको क्रममा तरहरामा जनसहभागिता विशेष रूपमा उल्लेखनीय देखिएको थियो। तरहरा चोकबाट सुरु भएको भव्य स्वागत र्‍याली कोटसभा हुँदै बुद्धचोक–२० सम्म पुगेको थियो। स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा “उज्यालो नेपाल जिन्दाबाद” को नाराले वातावरण गुन्जायमान बनेको थियो भने डम्फु सेलोको मौलिक सांस्कृतिक प्रस्तुतीले र्‍यालीको रौनक थपेको थियो।

अध्यक्ष घिसिङले तरहरास्थित स्थानीय गुम्बामा पुगेर गुरुज्यूबाट आशीर्वाद ग्रहण गर्नुका साथै दर्शन गर्नुभएको थियो। सो क्रममा उहाँले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै जनस्तरका भावना र सुझावहरू संकलन गर्नुभएको थियो।

तरहरामा आयोजित कार्यक्रममा सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार गोपाल तामाङ, केन्द्रीय सदस्य कमलबाबु मैनाली, संयोजक झरमन थेबे लगायतका बुद्धिजीवी, वरिष्ठ नेता तथा सञ्चारकर्मीहरूले अध्यक्ष घिसिङ र पार्टीको एजेन्डाप्रति बलियो समर्थन व्यक्त गरेका थिए।

तरहराको कार्यक्रम पश्चात र्‍याली कोशी राजमार्ग हुँदै इटहरीतर्फ प्रस्थान गरेको थियो। इटहरी प्रवेशसँगै संयोजक सुभाष योन्जन तामाङ (सुनसरी क्षेत्र नं. २), रत्न योन्जन लगायतका नेता तथा बुद्धिजीवीहरूले उहाँको भव्य स्वागत गरेका थिए। इटहरी मुख्य चोक परिक्रमा गर्दै आयोजना गरिएको कोणसभालाई अध्यक्ष घिसिङले सम्बोधन गर्नुभएको थियो।

इटहरी पश्चिम लाइनमा सम्पन्न उक्त सभामा राष्ट्रिय परिवर्तन पार्टी (बासुरी) का प्रतिनिधिहरूले समेत ऐक्यवद्धता जनाउँदै मन्तव्य राखेका थिए। सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले देशमा सुशासन, द्रुत विकास, रोजगारी सिर्जना र आम राजनीतिक रूपान्तरणको अपरिहार्यता औँल्याउनुभयो। उहाँले ‘उज्यालो नेपाल’ को अभियानलाई जनताको प्रत्यक्ष जीवनस्तरसँग जोड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

प्रदेश नम्बर १ मा भएको यो भ्रमण र जनलहरले उज्यालो नेपाल पार्टीप्रति आम जनताको विश्वास र आकर्षण बढ्दै गएको संकेत गरेको स्थानीय राजनीतिक विश्लेषकहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *