तरहरा प्रहरी चौकीको ईतिहासकी पहिले नेतृ, चम्पा भुजेल

0
POLICE TARAHARA

इटहरी, तरहरा – तरहरा प्रहरी चौकीको इतिहासमा पहिलो पटक महिला नेतृत्वको उदय भएको छ। नवनियुक्त इन्चार्ज प्रहरी नायब निरीक्षक चम्पा भुजेलले कार्यभार सम्हालेसँगै सुरक्षा व्यवस्थामा नयाँ दृष्टिकोण र महिला नेतृत्वको प्रभावकारी भूमिकाको संकेत देखिएको छ। हालै आयोजित एक परिचयात्मक कार्यक्रममा उनले समाजमा शान्ति, अमन–चयन र भाइचारा कायम गर्न आफू अहोरात्र खटिने दृढ प्रतिबद्धता व्यक्त गरेकी छन्।

विशेष गरी सुरक्षा निकायको नेतृत्वदायी भूमिकामा महिलाको उपस्थितिलाई अर्थपूर्ण मानिएको यस घडीमा, इन्चार्ज भुजेलले तरहरा क्षेत्रको मुख्य चुनौतीको रूपमा रहेको लागुऔषध दुर्व्यसनलाई निर्मूल पार्न कठोर अभियान चलाउने उद्घोष गरेकी छन्। उनले केवल कारबाही मात्र नभई, समाजको जगैदेखि सुधार ल्याउन टोल-टोलमा पुगेर घरेलु हिंसाविरुद्ध सचेतना र सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष पहल गर्ने कार्ययोजना प्रस्तुत गरिन्।

“शान्ति र सद्भाव केवल प्रहरीको बलले मात्र सम्भव छैन, यसका लागि जनचेतना र सामुदायिक सहकार्य अपरिहार्य छ,” इन्चार्ज भुजेलले भनिन्। उनको यो प्रष्ट दृष्टिकोणले सुरक्षा प्रशासनमा महिला नेतृत्वले ल्याउने संवेदनशीलता र सक्रियतालाई प्रष्ट पारेको छ।

कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष मणिराम श्रेष्ठले नयाँ नेतृत्वलाई स्वागत गर्दै प्रहरीको हरेक कदममा समुदायको पूर्ण साथ रहने विश्वास दिलाउनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य कुमारी विश्वकर्मा, बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर गिरी, युवा नेता रोशन भूजेल, कमला खड्का, बिना भुजेल, हासपोसा सामुदायिक वनका अध्यक्ष महेन्द्र गिरी लगायत विभिन्न राजनीतिक दल तथा सामाजिक संघ-संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

उपस्थित वक्ताहरूले तरहराले पहिलो पटक महिला इन्चार्ज पाएकोमा खुसी व्यक्त गर्दै, वडा नम्बर २० लाई सुरक्षित र हिंसारहित बनाउन महिला नेतृत्वको यो नयाँ अध्याय कोशेढुङ्गा सावित हुने अपेक्षा राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *