ऐतिहासिक किर्तिमान कायम गर्दै सकियो, एनी प्रथम गछिया गोल्डकप : दर्ता भएको छोटो समयमै रच्यो ईतिहास
हालै मृत्यु भएका जेन जी युवा र शहीदहरूको सम्मानमा मौन धारण गरिएको समापन कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई दोसल्ला र टोपीसहित रु. २५०० नगदले सम्मान गरियो । साथै, दुईजना अशक्त महिला आमाहरूलाई एक लाख रुपैयाँभन्दा बढी मूल्यका ह्विलचेयर वितरण गरियो । गोल्डकपको समापन अवसरमा पूर्व फुटबल खेलाडीहरूलाई नगदसहित सम्मान गरियो ।
नविन गुरुङ । गछिया, मोरङ
गछियामा मंसिर २२ गते सम्पन्न एनी प्रथम गछिया गोल्ड कप २०८२ को फाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरी, सुनसरीले गाईघाट युनाइटेड उदयपुरलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको उपाधि उचाल्न सफल भयो।
यो प्रतियोगिता गछिया युवा समाज, मोरङको आयोजनामा भएको थियो र यसको मुख्य उद्देश्य युवाहरूमाझ लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना फैलाउनु र खेलकुदमार्फत अनुशासित, सक्षम तथा स्वस्थ युवा उत्पादन गर्नु रहेको थियो।
फाइनल खेलमा प्रवेश बस्नेतले दोस्रो हाफको ८औँ मिनेटमा गरेको निर्णायक गोल नै जागृतिलाई उपाधि जिताउन काफी बन्यो। उत्कृष्ट खेल प्रर्दशन गरे पनि गाईघाटले गोल भने फर्काउन सकेन । न जित हासिल गर्न सफल भयो । राष्ट्रिय जागृति क्लब, ईटहरीको बलियो डिफेन्स र गोलकिपरको उत्कृष्ट प्रदर्शनका कारण खेल १–० मा सीमित रह्यो ।
योसँगै राष्ट्रिय जागृति क्लबले दुई लाख एक हजारको नगद पुरस्कार र ट्रफि हात पार्रयो भने उपविजेता बनेको गाईघाट युनाइटेडले एक लाख एक हजार नगद पुरस्कार र ट्रफिमा चित्त बुझायो ।
उत्कृष्ट खेलाडी सम्मान र पुरस्कार वितरण
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार र ट्रफिसहित सम्मानित गरिएको थियो ।
फाइनल खेलका निर्णायक गोलकर्ता राष्ट्रिय जागृति क्लब इटहरीका प्रवेश बस्नेत “‘प्लेयर अफ द म्याच’ घोषित भए।
यस्तै, राष्ट्रिय जागृतिबाट विश्वास चौधरी (गोलकिपर), मनीन्द्र याख्या (डिफेन्डर) र बिमल मगर (कोच) लाई नगद पुरस्कार र ट्रफि प्रदान गरियो ।
गाईघाट युनाइटेडका विवेक राई “बेष्ट मिडफिल्डर” घोषणा भए ।
यसैगरी, प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीका रूपमा राष्ट्रिय जागृतिका प्रवेश दनुवार घोषित भए, जसले रु. २५,००० नगद र ट्रफि प्राप्त गरे । उच्च गोलकर्ता (हाई स्कोरर) को उपाधि प्रदीप बुढाथोकीले हात पारे।
शिव राईलाई “‘राइजिङ प्लेयर”

आयोजक गछिया युवा समाजका खेलाडी शिव राईलाई ‘राइजिङ प्लेयर” घोषणा गर्दै रु. ११,००० नगद पुरस्कारसहित सम्मान गरियो । ‘राइजिङ प्लेयर’ को उपाधि ग्रहण गर्दै, शिव राईले आफ्नो सफलतालाई सामूहिक उपलब्धि मान्नुका साथै भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“आज यो ‘राइजिङ प्लेयर’ को उपाधि ग्रहण गर्दा मलाई अत्यन्तै गर्वको अनुभूति भएको छ । यो पुरस्कार मेरो व्यक्तिगत सफलता मात्र नभई समग्र गछिया क्षेत्रको तथा खेलकुदमा लागेका हरेक नेपाली युवाको सपनाको प्रतिनिधित्व हो ।”, सोल्टी टिभीसँगको कुराकानीमा उनले भने, “मैले यो सम्मानलाई सबैको तर्फबाट लिएको छु।”
उनले आफ्नो सफलता केवल निरन्तरको मेहनतको प्रतिफल मात्र नभई, यसमा कोच शम्भु गुरुङले आफु प्रति देखाएको अटल विश्वास र आफ्नो खेलप्रतिको इमान्दार समर्पणको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको सोल्टी टिभीलाई बताए ।
“म यो सम्मान मेरो घरेलु समर्थक र टिममेटहरूलाई समर्पित गर्न चाहान्छु ।”, पुरस्कृत भईसकेपछि उनले थपे, “मेरो परिवार, मेरा समर्थकहरू, कोच र क्लबलाई यो सफलताको पूर्ण श्रेय जान्छ। उहाँहरूको निरन्तरको माया र साथले मलाई प्रेरणा दिइरहेको छ। सबैलाई हार्दिक धन्यवाद।”
पुरस्कृत भईसकेपछि अतिथिहरुलाई सम्मानका साथ नमस्ते गरेका राईले मेडल, ट्रर्फीसहित आफ्नो बुवाको खुट्टा ढोग गरेका थिए । यो दृश्यले धेरैको मन खिचेको थियो । गछिया युवा समाजका सदस्य तथा गोल्डकपका २५ हजार आर्थिक सहयोग गरेका सरोज चाम्लिङ राईले यो दृश्य देख्दाँ शिव राईलाई “राइजिङ प्लेयर”का रुपमा सहि छनौंट भएको महशुष भएको आफुले गरेको सोल्टी टिभी तथा गोर्खा खबरलाई बताए ।
उनले सबै समर्थकहरूलाई धन्यवाद दिँदै भविष्यमा देश र गछियाका लागि फुटबल खेल्ने प्रतिबद्धता व्यक्त गरे।

सामाजिक कार्य र विविध मनोरञ्जनात्मक कार्यक्रम
प्रतियोगिताको फाइनल खेलको प्रमुख अतिथि पूर्व राष्ट्रिय सभा संसदीय दलका नेता रमेश जंग रायमाझी थिए।
हालै मृत्यु भएका जेन जी युवा र शहीदहरूको सम्मानमा मौन धारण गरिएको समापन कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई दोसल्ला र टोपीसहित रु. २५०० नगदले सम्मान गरियो । साथै, दुईजना अशक्त महिला आमाहरूलाई एक लाख रुपैयाँभन्दा बढी मूल्यका ह्विलचेयर वितरण गरियो ।

ह्विलचेयर पाएपछि उनीहरूले आँखाभरि आँसु पार्दै आजसम्म कसैले आफ्नो वास्ता नगरेको तर हालसालै दर्ता भई कानूनी रूपमा स्थापित सामाजिक क्लब गछिया युवा समाजले आफ्नो दुःख र आवश्यकतालाई आफ्नो मानेर सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरे।
खेल सुरु हुनुअघि र मध्यान्तरमा डान्स पर्फर्मेन्सहरू प्रस्तुत गरिएको थियो। यसका साथै, ड्रोनबाट बल हस्तान्तरण, आतशबाजी, बेलुन उडाउने, स्काउट्स ड्रिल शो जस्ता विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूले दर्शकहरूको उत्साह थपेको थियो, जसमा सयौं दर्शकहरूको उपस्थिति रहेको थियो।

सम्मान, धन्यवाद ज्ञापन र भावी योजना
आयोजक गछिया युवा समाजले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै स्थानीय फुटबल विकासमा यसको महत्व औंल्याएको छ। गोल्डकपको समापन अवसरमा पूर्व फुटबल खेलाडीहरूलाई नगदसहित सम्मान गरियो ।
समाजले प्रायोजक, समर्थक, सहयोगी, संयोजक, सदस्य तथा गछिया बाहिर र विदेशमा रहेका व्यक्तित्वहरूलाई मायाको चिनो वितरण गरेर आभार व्यक्त गर्यो। पत्रकारहरूलाई पनि धन्यवाद ज्ञापन गर्दै नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताको सफलताले गछियालाई पूर्वाञ्चल फुटबलको प्रमुख केन्द्रका रूपमा स्थापित गरेको छ ।
गोल्डकप संयोजक प्रल्हाद तोप्रा लिम्बूले प्रतियोगिताको आय-व्यय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिने र नाफा सामाजिक कार्य तथा फुटबल एकेडेमी स्थापनामा प्रयोग गरिने जानकारी दिए। लिम्बूले जेन जी (Gen Z) युवाको घर गई सान्त्वना दिने कार्यक्रम रहेको पनि बताए।

