जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको आक्रोश: ‘गोली हान्नेलाई कारबाहीको सट्टा हत्यारा जोगाउने प्रयास
काठमाडौं । गोर्खा खबर
जेनजी आन्दोलनका क्रममा नेतृत्व गर्न भनिएपछि देशको संकटग्रस्त अवस्थामा नेतृत्व लिएका सामाजिक अभियन्ता तथा ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले राजनीतिक दल तथा तिनका नेता-कार्यकर्ताहरूले आन्दोलनलाई विभाजित गर्न खोजेको र आफूलाई विदेशी एजेन्ट भनी बदनाम गर्ने प्रयास गरेको भन्दै आक्रोश पोखेका छन्।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा जेनजी युनाइटेडले बिहीबार माइतीघरमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले आन्दोलनमा गोली हान्ने आदेश दिने केपी ओली र तत्कालीन सत्ता सञ्चालकहरूलाई कानूनी दायरामा ल्याएर कारबाही गर्नुको सट्टा राजनीतिक दलहरूले जेनजीलाई विभाजित गर्ने दुष्साहस गरेको आरोप लगाए।
उनले राजनीतिक दलहरू र तिनका नेता, कार्यकर्ताहरूले हत्यारालाई कारबाही गर्नुको साटो ‘सिंहदरबार जलाएको’ कुरा गरेर हत्यारा जोगाउने खोजेको आरोप लगाएका छन्।
उनले आफू नेपाली नागरिक भएको र गोरखाका सीडीओलाई फोन गरेर आफ्नो नागरिकता कहिले लिएको, प्रतिलिपि कहिले लिएको बुझ्न सकिने बताए।
“मलाई विदेशी एजेन्ट भनेर बदनाम गर्ने ?’, गुरुङले आफ्नो नेपाली पहिचानमाथि उठेका प्रश्नको प्रतिवाद गर्दै प्रश्न गरे, ‘आँखा चिम्से हुने वित्तिकै भुटानी, विदेशी र अलि कालो हुने बित्तिकै भारतीय भन्न पाईन्छ ? यो मिल्दैन् ।’
गुरुङले आफ्नो संस्था ‘हामी नेपाल’ एनजीओ नभई गैर नाफमूलक संस्था भएको दाबी गरे।
उनले आन्दोलनमा घुसपैठ गर्नेहरूलाई आफूहरूले समातेर प्रहरीलाई बुझाइरहेको बताउँदै आन्दोलनको क्रममा घुसपैठ गरेर कांग्रेस र एमालेले एकअर्काका सम्पत्तिमा आगजनी गरेको दाबी गरे।
उनले कांग्रेस नेताहरू गगन थापा र शेखर कोइरालाले पनि पार्टी-पार्टी बीचको द्वन्द्वका कारण एकअर्काविरुद्ध आगजनी भएको भनेर अभिव्यक्ति दिएको तर्क प्रस्तुत गरे।
‘उनीहरूले एकअर्काका विरुद्ध आगजनी गरेका छन्, त्यसको शिकार हामी हुन सक्दैनौँ,’ उनले भने, ‘सत्य बुझौँ। ८० वर्षसम्म देशमा बेथिति भएपछि जेनजी आन्दोलन भएको हो। यो सरकार बनेको एक महिनामै सबै परिवर्तन हुँदैन। हामीले पर्खिनुपर्छ।’
गुरुङले नेताहरूको रणनीति जेनजीहरूलाई कमजोर बनाउने रहेको भन्दै जेनजीहरूलाई विभाजित गर्न खोज्ने नेताहरूले यस्तो भ्रम नराखे हुन्छ भने। उनले जेनजीको एकता बिथोलेर नेताहरूले जेनजीभन्दा त कांग्रेसै ठीक, एमाले नै ठीक हो भन्ने भाष्य बनाउन खोजिरहेको जिकिर गरे।
उनले अब नेपाली नागरिक भएर सोच्न, एउटै झन्डामुनि मात्रै बस्न र देश विकास गर्न आह्वान गरे। जेनजी अगुवाहरूमध्ये को राम्रो, को नराम्रो भन्ने भाष्य बनाउने काममा नेताहरू लागेको उल्लेख गर्दै गुरुङले आक्रोश पोखे, ‘नराम्रो त्यो नेताहरू हो, अहिलेको समयसम्म देश बिगार्ने नेताहरू हो।’
अहिलेसम्म त्यस्ता नेताहरूलाई नचिनेर नागरिकले भोट हालिरहेको भन्दै उनले अब नागरिकले आफ्नो सोच परिवर्तन गरेपछि मात्र समाज परिवर्तन हुने बताए।
