काठमाडौँ । ‘हामी नेपालका’ संस्थापक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले राष्ट्रपति भवन शीतलनिवासमा आफू ‘सेलिब्रेसन’ गर्न नगएको स्पष्ट पारेका छन्। संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि सामाजिक सञ्जालमा आलोचना भएपछि गुरुङले एक भिडिओ वक्तव्यमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका हुन्।
उनले नेताहरूलाई ठाडो शिर नपारुन् भन्नका लागि आफू त्यहाँ गएको बताएका छन्। ‘नेताहरू सबै आउने भनेपछि यिनीहरू सिङ उचालेर जान्छन् भनेर म त्यहाँ गएको हो,’ गुरुङले भनेका छन्। उनले त्यहाँ कुनै पनि नेतासँग नबसेको र कुर्सीमा पनि नबसी पानीमा रुझेरै उभिएको दाबी गरे।
उनले राष्ट्रपति निवासको पानीसमेत नखाएको बताउँदै ‘भाइ बहिनीहरूको रगत बगेको छ, मलाई यिनीहरूको केही खानु पनि छैन’ भनेका छन्। नेपाली कांग्रेसका नेता गगन थापासँग भने कुरा गरेको उनले जानकारी दिए।
आफूमा कुनै लोभ नभएको र व्यक्तिगत रूपमा केही पनि नमागेको उनको भनाइ छ। उनले जेनजीहरूलाई सही र गलत छुट्याउन केही समय पर्खन पनि आग्रह गरेका छन् ।
भिडियो हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस् https://www.facebook.com/share/v/1PwdBtsoiX
https://www.facebook.com/sudangrghaminepal/videos/1698172384210039
