इटहरी – इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले नगरभित्र बसोबास गर्ने १६ वटा आदिवासी जनजातिहरूका लागि छुट्टाछुट्टै सामुदायिक भवन निर्माण गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेका छन्। किरात राई सुम्निमा संघ सुनसरीको नवनिर्मित भवनको दोस्रो तल्लाको उद्घाटन समारोहमा बोल्दै मेयर पौडेलले आगामी एक वर्षभित्र सबै जातीय समुदायका लागि भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मेयर पौडेलले सामुदायिक भवनहरूलाई केवल भौतिक संरचनाका रूपमा मात्र नहेरी, तिनलाई सामाजिक तथा सांस्कृतिक उत्थानको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने आफ्नो दृष्टिकोण बताएका छन् ।
“यी भवनहरू कुनै राजनीतिक गतिविधि गर्ने ठाउँ नभई, हाम्रो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जोगाउने र पुस्तान्तरण गर्ने साझा थलो बन्नेछन्,” उनले भने।
उनका अनुसार, यी भवनहरूमा समुदायका सदस्यहरूले आफ्ना सुख-दुःख बाँड्ने, चाडपर्वहरू मनाउने, आपसी छलफल गर्ने, र अनुभव आदानप्रदान गर्ने अवसर पाउनेछन्। यस्ता सामुदायिक केन्द्रहरूले आदिवासी जनजातिहरूको संस्थागत विकासलाई दीर्घकालीन रूपमा टेवा पुर्याउने उनको विश्वास छ।
यसअघि, किरात राई सुम्निमा संघले स्थानीय दाता र इटहरी उपमहानगरपालिकाको सहयोगमा आफ्नो भवनको दोस्रो तल्ला निर्माण सम्पन्न गरेको थियो। सोही भवन उद्घाटनका क्रममा मेयर पौडेलले आदिवासी जनजातिको सामाजिक तथा सांस्कृतिक एकता र सशक्तिकरणका लागि यस्ता पहलहरू आवश्यक रहेकोमा जोड दिएका थिए।
