स्थानीय मिडिया ऐन ल्याएर पहिचान र जनताको आवाजलाई सशक्त बनाउने- अध्यक्ष रुम्दाली
विजयपुर । साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जनताको आवाज र पहिचानलाई सशक्त बनाउन छिट्टै स्थानीय मिडिया ऐन ल्याउने घोषणा गरेका छन्।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २६ ओैँ स्थापना दिवसको अवसरमा धरानस्थित एचके मेलोडीमा आयोजित कार्यक्रममा बोल्दै उनले सञ्चार क्षेत्रलाई पूर्ण समावेशी र जनमुखी बनाउन कानूनी संरचना अपरिहार्य भएको उल्लेख गरे।
उनका अनुसार, मिडियाले केवल समाचार मात्र नभई समाजको वास्तविकता उजागर गर्ने दायित्व वहन गर्नुपर्नेछ।

“सञ्चारकर्मीको कलमले पहिचानको सुरक्षा र जनताको समस्या समाधानको बाटो देखाउनुपर्छ,” अध्यक्ष रुम्दालीले भने, “स्थानीय तहबाटै कानुनी आधार निर्माण गरेर मिडियाको स्वतन्त्रता र जिम्मेवारीलाई सन्तुलनमा ल्याउने हाम्रो लक्ष्य हो।”
उनले थपे, “आज मिडियामा विविधता र अवसरको कमी देखिन्छ, जसलाई हामी ऐनमार्फत सुधार गर्न चाहन्छौं। यसले पत्रकारको सुरक्षादेखि पेसागत मर्यादासम्मको अधिकार सुनिश्चित गर्नेछ।”
कार्यक्रममा पत्रकारिता क्षेत्रमा सक्रिय र योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको थियो। पत्रकार दिल कुमार लाओती र शारदा तामाङलाई पहिचान पत्रकारिता पुरस्कारसहित जनही १० हजार रुपैयाँ र कदरपत्र दिइएको थियो।
फाेनिज प्रदेश १ को आयोजनामा भएको कार्यक्रममा विभिन्न सञ्चारकर्मी, पत्रकार संगठनका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।
