इटहरी, साउन १। राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, प्रदेश १, नेपालले आज एक महत्वपूर्ण विचार–विमर्श कार्यक्रम सम्पन्न गरेको छ। “सांस्कृतिक रूपान्तरण, आदिवासीत्व र आदिवासी जनजाति महिला” शिर्षकमा आयोजित कार्यक्रममा अध्ययनशील लेखिका तथा सांस्कृतिक अनुसन्धानकर्ता कैलाश राई प्रमुख श्रोत व्यक्तिका रूपमा सहभागी भइन्।
नेपाली साहित्य, आदिवासी विषय अनुसन्धान र सांस्कृतिक रूपान्तरणका क्षेत्रमा स्थापित नाम कैलाश राईले विशेषगरी आदिवासी जनजाति महिला, संस्कृति, भाषा तथा सामाजिक रूपान्तरणका विविध पक्षमा आधारित अनुभव र विश्लेषण प्रस्तुत गरिन्।
मञ्चकी प्रदेश अध्यक्ष माया राईका अनुसार अपेक्षा गरिएभन्दा बढी सहभागी रहेको कार्यक्रम प्रदेश १ का विभिन्न जिल्लाबाट आएका ६७ जना महिलाहरूको सहभागितामा सम्पन्न भएको थियो। केही पुरुष सहभागी पनि उपस्थित थिए।
अध्यक्ष राईले छोटो अवधिमा आयोजना गरिएको आजको अन्तरक्रिया कार्यक्रमले युवाहरूलाई प्रेरणा दिने र आदिवासी आवाजहरूलाई मुख्यधारमा ल्याउन सहयोग गर्ने उल्लेखनीय पहल भएको प्रतिक्रिया दिइन्। कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण पक्षहरूलाई उनले धन्यवाद पनि व्यक्त गरिन्।
यस अवसरमा सहभागीहरूले “अब नेपाली आदिवासी समाजको आवाज स्पष्ट बोलिन थाल्ने” विश्वास व्यक्त गरे। कार्यक्रमले विशेषगरी महिलाहरूमा चेतना, आत्मविश्वास र सामाजिक सक्रियता बढाउने संकेत दिएको सहभागिहरूले बताएका छन् । आदिवासी महिलाको दृष्टिकोणबाट सामाजिक-सांस्कृतिक प्रश्नहरूलाई उजागर गर्दै नेपाली बौद्धिक विमर्शलाई समृद्ध तुलाउने समेत उनीहरुको विश्वास छ ।
त्यसैगरी, नेपाल आदिवासी जनजाति महासंघ, इटहरी उपमहानगर समितिका अध्यक्ष चिराहाङ राईले ‘गोरखा खबर’सँग कुरा गर्दै, “यस प्रकारका कार्यक्रमले आदिवासी जनजाति महिला दिदीबहिनीहरूलाई सशक्त बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्नेछ,” भन्ने धारणा राखे।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक पक्षले जानकारी दिएको छ।
