सम्झनामा सूर्य सर

0
Surya Rai Sir Khagendra khadka article

खगेन्द्र खड्का
एकता लाईन, तरहरा
हालः काठमाण्डौं

पचासको दशक अगाडिको कुरा हो, तरहराको अहिलेको ’एकता टोल’ को नामाकरण पनि भएको थिएन होला, मास्तिर कमल भेनाको (पोख्रेल) काठको घर, तल्तिर शम्भु दाइ, उता पछाडि यादब दाइ र राम केसि. (पछि पुस्तक दाइको) अलिक अगाडि दाँया र बाँया फुँयल बा र हाम्रो अलिक पछि सबिता दिदीहरु ……… यस्तै–यस्तैका बिचमा आएर सूर्य सरले घरबास शुरु गर्नुभएको थियो त्यो घरमा – जुन घर पहिले मित्रसेन दाहालका भाइ दाहाल साँल्दाइको थियो।

त्यतिबेला स्कुल भन्दा अलिक फराकिलो फाँट कलेजमा कावा खाँदै गरेका हामी, सर कलेजका लेक्चरर र म्याम पनि स्कुलको टिचर – को परिवार हाम्रै टोलमा छिमेकी भएर आउदा गर्वानुभुतिले ढक्क फुलेका थियौँ।

त्यो समयमा ’तरहरामा को बौद्धिक मान्छे बस्छन् र?’ भन्ने बाहिरका मान्छेहरुले गर्ने हेयभावको प्रश्नको आत्मविश्वासका साथ दिने जवाफ पनि हुनुहुन्थ्यो आदरणीय सूर्य सर।

हुन त पाँचथर रबि बजारका हुनेखाने परिवारका सर र भी. सी. बुवाकी छोरी निरा मिसले आर्थिक वा पारिवारिक कुनै रुपले जागिर खाइराख्नु पर्ने थिएन तर समाज, परिवार र आफुप्रतिको आफ्नो कर्तव्यलाई पालना गर्न कर्मयोग गरिरहनुपर्छ भन्ने कुराको बोध गर्नुभएर र आफ्नो बानी अनुसार नबोलिकनै हामिलाई पनि बोध गराउनका खातिर प्राध्यापनमा लाग्नुभएको रहेछ, जुन कुरा त्यतिबेलाका आलाकाँचा हामीलाई बुझ्न महाभारत हुन्थ्यो।

अत्यन्तै सरल सूर्य सरका घरबाट कहिल्यै ठुलो वा कर्कश आवाज सुनिएन। अरुलाई व्यवधान पो होला कि भनेर सजग रहदै आफु सदा सजिलो र मिजासिलो रहिरहनुभयो। अर्थात् – यो नै सूर्य सरको स्वभाव थियो। भन्छन् नि– आँखामा राख्दा पनि नबिझाउने लालगेडि जस्तो।

सूर्य सर नहुनु भनेको कुनै पनि कुरामा अनावश्यक चासो नराख्ने, अत्यन्त मृदुभाषी र विनयी, आफ्नो पद, प्रतिष्ठा र विद्वताको अरुलाई आभास मात्र पनि हुन नदिने एउटा कञ्चन व्यक्ति नहुनु हो, तरहरा रूपी इन्द्रेणीमा एउटा रङ्ग नहुनु हो ।

यस्ता व्यक्ति हामी माझ रहनुभएन भन्ने अनुभूत गर्दा भित्री मन त दुख्छ नै !

यहि दुखी मनले सरलाई भावपूर्ण श्रद्धान्जली र निरा म्याम तथा सम्पूर्ण परिवारजनमा हार्दिक समबेदना । सरलाई रोज्जा मुक्ति मिलोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *