‘मै ठूली भइछु रे’ फेम् गायिका रेश्मा सुनुवारले तिहारअघि नै भनिन्,‘भैलेनी देउसीरे’

गोर्खा खबर ईन्टरटेनमेन्ट न्यूज । धरान
अमेरिकामा रहेकी नेपाली चर्चित तथा लोकप्रिय गायिका रेश्मा सुनुवारले तिहार पर्वलाई लक्षित गर्दै नयाँ साङ्गीतिक कोसेली ‘भैलेनी देउसीरे’ सार्वजनिक गरेकी छिन् । लामो समयदेखि नेपाली साङ्गीतिक आकाशमा आफ्ना सुमधुर स्वरले श्रोता तथा दर्शकहरूको मन जित्दै आएकी गायिका सुनुवारको यस नयाँ सिर्जनाले विशेषगरी तिहारको सांस्कृतिक उमंगलाई थप रौनकता प्रदान गर्ने निश्चित देखिन्छ । ‘मै ठूली भइछु रे’ जस्ता सुपरहिट गीतबाट अपार लोकप्रियता कमाएकी रेश्माले हाल अमेरिकालाई कर्मथलो बनाए पनि नेपाली गीतसङ्गीतप्रतिको माया र सिर्जनात्मक यात्रालाई निरन्तरता दिँदै आएकी छिन्।
नम्रता वाइरलेस र ब्लश हाउसको प्रस्तुति तथा आरएमडी टक्सको सहकार्यमा बजारमा आएको यस गीतमा रेश्मा सुनुवार र बिना राउतको सुमधुर स्वर सुन्न सकिन्छ भने तालीशा गुरुङको समेत भिडियोमा साथ रहेको छ। गीतका शब्द तथा सङ्गीत स्वयम् रेश्माकै हो भने यसको सङ्गीत संयोजन, मिक्सिङ तथा मास्टरिङ पुस्कर सुनुवारले गरेका हुन्। अनामनगरस्थित मेलोडी नेपाल स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा अमेरिकामा प्रज्वल बज्राचार्यले भोकल रेकर्डिङको काम गरेका छन्। साथै, गीतमा कल्पना विश्वकर्मा, डिकु शेर्पा, रमा श्रेष्ठ र सपना नेपालीको कोरस गायन रहेको छ भने मादल, ढोलक, च्याब्रुङ, बाँसुरी, सारङ्गी र गितारलगायतका परम्परागत तथा आधुनिक वाद्ययवाजहरूको उत्कृष्ट प्रयोग गरिएको छ।
गीतको भिडियो पक्षलाई पनि उत्तिकै आकर्षक र जीवन्त बनाइएको छ। निरन श्रेष्ठको निर्देशन, नितिन वाइबाको नृत्य निर्देशन तथा मोहन सुनुवारको क्यामेरा र सम्पादनमा तयार भएको यस भिडियोमा बिना राउत, तालीशा गुरुङ, उत्तम केसी र ध्रुव कोइराला लगायतका कलाकारहरूको अभिनय तथा आकर्षक नृत्य प्रस्तुत गरिएको छ। यसका अतिरिक्त, जेतिचा लाल सुनुवारको नेतृत्वमा गोकर्णेश्वर सुनुवार सेवा समाज, नगर समितिको ढोल झ्याम्टा टोलीको सांस्कृतिक प्रस्तुतिले भिडियोलाई अझ बढी मौलिक र आकर्षक बनाएको छ। मौलिकता, चाडपर्वको उल्लास र नेपालीपनले भरिपूर्ण यो साङ्गीतिक भिडियोले दर्शक तथा श्रोताहरूको मन जित्ने विश्वास गरिएको छ।
