तरहरा उत्सव चुनावपछि मात्रै; ब्यानर अनावरण

0

एकै समयमा दुई ठूला कार्यक्रम गर्दा समाजमा आर्थिक बोझ थपिने र रेडक्रसको ऐतिहासिक कार्यक्रमलाई असर पुग्न सक्ने भएकाले हामीले स्वेच्छाले यो त्याग गरेका हौँ। हामी पछाडि हट्दा अर्को सामाजिक संस्था अगाडि बढ्छ भने त्यो हाम्रो लागि गौरवको विषय हो।”

tarahara utsav5

एन.जी. लामातरहरा, इटहरी

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताको पूर्ण पालना र सामाजिक सद्भावलाई मध्यनजर गर्दै तरहराको गौरवको रूपमा रहेको ‘तरहरा उत्सव’ केही समयका लागि स्थगित गरिएको छ। निर्वाचनलाई मर्यादित बनाउन र समाजमा कुनै पनि किसिमको प्रतिकूल असर नपरोस् भन्ने उद्देश्यले उत्सवलाई चुनावपछि मात्रै गर्ने निर्णय गरिएको हो।

उत्सवलाई अझ बलियो र भव्य रूपमा मनाउने योजनासहित हालै सीमित जातीय एवम् मुख्य सेलिब्रेशन कम्युनिटी पार्टनरहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा एक विशेष ‘प्रिमियर तथा चियापान भेटघाट’ कार्यक्रम सम्पन्न गरिएको छ। सोही अवसरमा उत्सवको विस्तृत योजना, आकर्षक क्यास गिभअवे (नगद पुरस्कार) घोषणा र तरहराको इतिहासमै हालसम्मकै सबैभन्दा ठूलो १० x १० फिटको प्रवर्द्धनात्मक ब्यानर अनावरण गरिएको छ।

वर्ष २०८२ को औपचारिक कार्यक्रमको सभापतित्व ग्रहण गर्नुहुने इटहरी उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष मणिराम श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। सोही अवसरमा वडा अध्यक्ष श्रेष्ठको जन्मोत्सव समेत दुईवटा केक काटेर सामूहिक नृत्यका साथ उल्लासमय वातावरणमा मनाइयो।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक पक्षले निर्वाचन आचारसंहिताका साथै नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाद्वारा आयोजना हुन लागेको ‘पहिलो हाँसपोसा जुनियर रेडक्रस कन्क्लेभ’ लाई पूर्ण सहयोग पुर्‍याउन उत्सवको मिति सारिएको जानकारी दिएका छन्।

आयोजकले भनेका छन्, “हामी आफ्नो पेशा र समाजप्रति इमानदार छौँ। एकै समयमा दुई ठूला कार्यक्रम गर्दा समाजमा आर्थिक बोझ थपिने र रेडक्रसको ऐतिहासिक कार्यक्रमलाई असर पुग्न सक्ने भएकाले हामीले स्वेच्छाले यो त्याग गरेका हौँ। हामी पछाडि हट्दा अर्को सामाजिक संस्था अगाडि बढ्छ भने त्यो हाम्रो लागि गौरवको विषय हो।”

चैत महिनाभित्रै सम्पन्न गरिने यस उत्सवको नयाँ मिति अन्य कुनै पनि ठूला कार्यक्रमहरूसँग नजुध्ने गरी आपसी छलफलबाट तय गरिने जनाइएको छ।

‘मास्टर होस्ट’ मुक्तिनाथ घिमिरेले उत्सवको विस्तृत कार्ययोजना प्रस्तुत गर्दै रु. १ लाख २५ हजार, १ लाख, २५ हजार, १७ हजार, र ११,१११ बराबरका नगद पुरस्कार तथा विभिन्न उपहारहरूको घोषणा गर्नुभयो।

घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा गायक भोलामान गुरुङको सारङ्गीको सुमधुर धुनले सबैलाई मन्त्रमुग्ध बनाएको थियो।

“२०८२ का कम्युनिटी हिरो (सामुदायिक हिरो)” राम प्रसाद राईले आफ्ना प्रेरणादायी अनुभव सुनाएको उक्त कार्यक्रममा सेलरोटी, आलुदम, गुन्द्रुकको अचार र चियाको मौलिक स्वादका साथ मुख्य उत्सवको एक झलक प्रस्तुत गरिएको थियो।

कार्यक्रममा संयुक्त भूपू सैनिक क्लब, नेपाल मगर संघ, थारु कल्याणकारिणी सभा, खस क्षेत्री एकता समाज, नेपाल दशनामी समाज, दशनामी (संन्यासी) ब्राह्मण समाज नेपाल लगायत विभिन्न क्लब, सञ्चारकर्मी र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।

आयोजकले आगामी दिनमा तरहरा उत्सव झनै व्यापक र भव्य हुने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा अतिथिहरुले उत्सवको सफलताको लागि शुभकामना व्यक्त गर्नुका साथै आर्थिक स्पोन्सर सहयोग पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *